जिल्ला तहसम्मै पाँच दलीय मोर्चा विस्तार : नेपाल

  असोज १०, २०७८

हेटौँडा, असोज ९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान रक्षाका लागि एकजुट भएको पाँच दलीय गठबन्धन केन्द्रदेखि जिल्लातहसम्म बिस्तार गर्न लागिएको बताउनु भएको छ । हेटौँडामा पार्टीको जिल्ला कमिटीको सपथग्रहण तथा जिल्ला भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले लोकतन्त्र संविधानको रक्षाका लागि उभिएका दलहरुको गठबन्धन केन्द्र, प्रदेशहुँदै जिल्लातहसम्मै बिस्तार गरिने बताउनु भएको हो ।

सबै तहका सरकारका कामहरुको समन्वय र सहजीकरणका लागि गठबन्धन बिस्तार गर्दै आपसी समन्वय र सहयोगको भावना विकास गर्दैलगिने उहाँले बताउनुभयो । “केही मान्छेहरु माधव नेपालले लगेर प्रचण्डलाई पार्टी बुझाउँछन् भन्ने भ्रम छरेका छन्”, अध्यक्ष नेपालले थप्नुभयो–“त्यो कुरा शतप्रतिशत झुटो हो ।”

अध्यक्ष नेपालले केही दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने बताउनुभयो । संघीय सरकारको पूर्णता र प्रदेश सरकार निर्माणसँगै गठबन्धनको बिस्तार थालिने उहाँले बताउनुभयो । एउटा उज्यालो तारा भएर नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपा एकीकृत समाजवादी आएको उहाँले दावी गर्नुभयो । अध्यक्ष नेपालले भन्नुभयो–“हामी मदन भण्डारी, पुष्पलाल, कार्ल माक्र्स, लेनिन सबैका कुरा सुनेर अघि बढ्छौँ, व्यवहारमा उतार्छाैं ।”

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एबम् प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले सत्ता लिप्सामा लागेको समूहले आफूहरुप्रति गरेको टिप्पणी हाँस्यास्पद रहेको बताउनुभयो । जिल्ला अध्यक्ष श्रीधर पोखरलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य राजाराम स्याङ्तान, केन्द्रीय सदस्य मुनु सिग्देल, जिल्ला उपाध्यक्ष मिना लामा लगायतले मन्तब्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया