काठमाडौं, असोज ८ : नेपाालमा पछिल्लो समय कोरोना भाईरसको डेल्टा भेरियन्ट सक्रिय छ । यो भेरियन्ट छिटो संक्रामक हुने भएकाले यसलाई भेरियन्ट अफ कन्सर्न नाम दिईएको छ । भेरीयन्ट अफ कन्सर्नमा योसँगै अल्फा, बिटा,गामा भेरियन्ट पनि छन् । भाईरसहरु समयसमयमा उत्परिवर्तन (म्यूटेसन) भैराख्ने भएका कारण त्यसबाट उत्पन्न हुने भेरीयन्टहरु खतरनाक पनि हुन सक्ने विज्ञहरुले बताउँदै आएका छन् ।
यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पहिलो लहरमा अल्फा भेरियन्ट देखा परेको र दोस्रो लहरदेखि हालसम्म डेल्टा भेरीयन्ट सक्रिय रहेको बताउनुभयो । अहिले विश्वका धेरै देशहरुमा यो भाइरसले आक्रामक रुप लिएकाले जहाँ कोरोना भाईरस पुगेको छ त्यहाँ नयाँ म्यूटेसन हुने खतरा रहेको उताउनुभयो । नेपालमा पनि नयाँ म्युटेसन हुने खतरा रहेको उहाँले बताउनुभयो । पछिल्लो समय संक्रमण दर घटेको भएपनि जोखिम कायम रहेको उहाँको भनाइ छ ।
संक्रामक रोग बिशेषज्ञ डा.शेरबहादुर पुनले पनि भाईरसहरुको म्यूटेसन नियमित हुने भएकाले खोपको पहुँच पर्याप्त मात्रामा नभएसम्म नयाँ म्यूटेसनको जोखिम कायम नै रहेको बताउनुभएको छ । कोरोना विरुद्धको खोपको पहुँच ९० प्रतिशत जनसंख्यामा नपुग्दै डेल्टा भेरियन्ट जत्तिकै संक्रामक भेरीयन्ट नेपालमा देखिए अवस्था जटिल पनि हुन सक्ने उहाँको भनाइ छ । “कोरोना विरुद्धको खोप लगाएका व्यक्तिहरुमा भाईरसको भार बढी देखिएको छ यसकारण पनि सचेतना जरुरी छ” उहाँले भन्नुभयो । खोपको सबैको पहुँचमा पुगेमात्र थप नयाँ भेरियन्ट देखा परेपनि दोस्रो लहरको जस्तो भयावह स्थिति नआउने पुनको भनाई छ ।
यस्तै माईक्रोबायोलोजिष्ट डा.प्रकाश घिमिरेले कोरोना भाइरस आरएनए भाइरस भएका कारण म्यूटेसन सामान्य कुरा भएको बताउनुभयो । तर ९० प्रतिशत जनसंख्याले खोप नलगाएसम्म नयाँ म्यूटेड भेरीयन्टको जोखिम कायम रहने उहाँको भनाई छ । कोरोना भाइरसको जुनसुकै भेरियन्ट वा म्यूटेसनको लागि खोपको अलवा स्वास्थ्य मापदण्डको पालना, मास्कको प्रयोग र स्यानिटाईजरको प्रयोग आवश्यक रहेको घिमिरेको भनाइ छ । दशै, तिहार जस्ता चाडवाडमा स्वास्थ्य मापदण्डको पालना नगर्ने र भारत तथा तेस्रो मूलुकबाट आएका व्यक्तिहरुसँग घुलमिल बढ्दा संक्रमणको जोखिम अझै बढ्दै जान सक्ने उहाँले बताउनुभयो ।






