भारतमा ३१ हजार नयाँ सङ्क्रमित

  असोज ०८, २०७८

नयाँदिल्ली, असोज ८ : भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ सङ्क्रमित मध्ये १९ हजार ६८२ जना केरलाका मात्रै छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ । यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो ।

पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ । नयाँ सङ्क्रमित भएकाहरू भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै देखिएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको हो । पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

भारतमा अहिलेसम्म कुल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ । तीमध्ये ३१८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया