दुहबी (सुनसरी), असोज ७ : नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कांग्रेसको आसन्न १४औ महाधिवेशनले स्थानीयदेखि केन्द्रीय तहसम्म नेता र कार्यकताहरुको इच्छा र चाहना अनुरुप पार्टीको आन्तरिक एकता तथा सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
महाधिवेशनमा आफ्नो सभापति पदमा उम्मेदवारी नभएको प्रष्टपार्दै उहाँले आफू सबैको इच्छा, चाहना र आवश्यकता अनुसार पार्टीको सुदृढीकरण र एकतामा क्रियाशील रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । गृहनगर दुहबीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति गच्छदारले सो धारणा राख्नुभएको हो ।
महाधिवेशनको सफलतासँगै वडास्तरदेखि केन्द्र तहसम्मलाई जोड्ने र यसले पार्टीको आन्तरिक एकता तथा सुदृढीकरण हुने विश्वाससमेत व्यक्त गर्नुभयो । महाधिवेशन अन्तरगत स्थानीय स्तरमा हुन लागेको गाँउ, नगर, प्रदेश र संसदीय निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा गृहजिल्ला आउनु भएका उपसभापति गच्छदारले स्थानीय नेता र कार्यकर्ताहरुलाइ पनि पार्टीको आन्तरिक एकतालाई आधार मानेर अधिवेशनमा सहभागी बन्न आग्रह गर्नुभएको थियो ।
मुलुकमा लोकतन्त्र स्थापनामा काँग्रेसले अग्रणी भूमिका निर्वाह गरेको र जनताको आशा र अपेक्षा पनि काँगे्रसप्रति रहेको दाबी गर्दै नेता गच्छदारले काँग्रेसले नै देश र जनताको हितमा काम गर्ने बताउनु भयो । आफू लोकतन्त्रवादी भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक पद्धतिको स्थापना, संस्थागत विकास र प्रवद्र्धनमा आफ्नो तर्फबाट निरन्तर योगदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उपसभापति गच्छदारले यसअघिको सरकारले आफूलाई राजनैतिक प्रतिशोध साँधेर षड्यन्त्रपूर्वक आरोप लगाएको भन्दै ललिता निवास जग्गा प्रकरणमा आफू दोषि नभएको दाबी पनि गर्नुभएको छ ।
उहाँले अगाडि भन्नुभयो, “ललिता निबास जग्गा प्रकरणमा आफूलाइ जोडेर मेरो राजनीतिक चरित्र समाप्त पार्ने प्रयास भएको छ ।” यस प्रकरणमा जोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक प्रतिशोधका आधारमा झुटा मुद्दा लगाए पनि स्वतन्त्र र निष्पक्ष न्याय पाउने कुरामा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । उपसभापति गच्छदारको भनाइ थियो, “आजसम्म मैले राष्ट्रलाई हानी नोक्सानी पुग्ने र आफ्नोमात्र लाभ हुने कुनै कार्य गरेको छैन ।
पार्टी कार्यकर्ता भेलामा प्रदेश १ को प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कँंग्रेसका नेता राजिव कोइरालाले प्रदेश १ मा अल्पमतमा रहेको एमालेको सरकार चाडै ढल्ने बताउनु भयो । उहाँले ढल्नै लागेको प्रदेश सरकारले मन्त्रिमण्डल विस्तार गर्नु निर्लज्ज भएको आरोप लगाउँदै चाँडै गठवन्धनको सरकार निर्माण हुने पनि उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस दुहबी नगर समितिद्वारा आयोजित कार्यक्रममा नगर सभापति गुलाबी मियाँले पनि आफ्नो धारणा राख्नु भएको थियो । कांग्रेसका प्रभावशाली नेतासमेत रहनु भएका उपसभापति गच्छदार बिराटनगर विमानस्थलमा आइपुग्नु हुदाँ सुनसरी र मोरङका हजारौ कार्यकर्ता तथा स्थानीय नेताहरुले उहाँलाई स्वागत गर्नु भएको थियो ।






