नेकपा (एस) केन्द्रीय कमिटीको पहिलाे बैठक आज : कमिटी विस्तार, जिम्मेवारी बाँडफाँड लगायत विषयमा छलफल हुने

  असोज ०५, २०७८

काठमाडौं, असोज ५ : सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी ) पार्टीको केन्द्रीय कमिटीको बैठक दिउँसो २ बजे काठमाडौको बुद्धनगरस्थित क्वालिटी बैक्वयटमा बस्दैछ । भदौ ९ गते निर्वाचन आयोगबाट दलको आधिकारिकता पाएको नेकपा (एस) को मङ्गलबार पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी संगठन विस्तार एवम् जिम्मेवारी बाँडफाँड लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा (एस) का नेता विरोध खतिवडाले जानकारी दिनुभयो । देशका ७७ वटै जिल्लाहरुको कमिटी गठन र विगतका समानान्तर कमिटीलाई नेकपा (एस) मा रुपान्तरण गरिने विषयमा बैठकमा छलफल हुदैछ । यसैगरी पार्टी कमिटीका ईन्चार्जहरु तोक्ने, जनवर्गीय संगठनहरुको व्यवस्थापन एवम् जिम्मेवारी बाँडफाँडका विषयमा छलफल हुने नेता खतिवडाले बताउनुभयो ।

हामी पहिलो पटक पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछौं, पार्टी र सङ्गठनका विषयसँग सम्बन्धित सबै विषयमा हामी छलफल गर्छौ । बैठक कति दिन चल्न् भन्ने पनि छलफलले नै निर्धारण गर्नेछ, खतिवडाले बताउनुभयो । साथै बैठकमा सत्तारुढ गठबन्धनका गतिविधि लगायत समसामयिक राजनीतिक विषयमा  छलफल हुने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया