एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री बन्ने प्रावधान चाहिन्छ : शर्मा

  असोज ०३, २०७८

काठमाडौं, असोज ३ : सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसक्नुभएको विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारीको सन्दर्भमा राजनीतिक घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।

नेपाली काँग्रेसका हालका प्रवक्ता विश्वप्रकाश शर्माले गृहजिल्ला झापामा संविधान दिवसका अवसरमा ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ विषयमा अपिल गर्नुहुदै राजनीतिक अवधारणा सार्वजनिक गर्नुभएको हाे । कार्यक्रममा बोल्नुहुँदै शर्माले देशको राजनीतिले अब क्रान्तीको परिभाषा बदल्नुपर्ने बताउनुभयो ।

विगतमा २००७ साल, २०४६ सालर २०६२–६३ को जनआन्दाेलन पश्चात् देश नविन राजनीतिक प्रणालीमा गइसक्यो, यो व्यवस्था राम्रो छ, यसलाई सुरक्षित र व्यवस्थित बनाउन देशका सबै राजनीतिक दलहरुले सोच्नुपर्ने उहाँको भनाई छ ।

यसैगरी, एक जना राजनीतिककर्मीले जीवनमा एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद बन्ने र सो अवधिमा आफ्नो विचार र दृष्टिकोणलाई भरपूर कार्यान्वयन गर्नसक्नुपर्ने अवधारणालाई अघि बढाइनुपर्ने शर्माको भनाइछ । यसो हुन सक्यो भने, कृपया हटिदिनुस् न, भन्ने परिपार्टीको अन्त्य हुने बताउनुहुँदै शर्माले विगतमा यसखाले अवधारणा आइसकेको भए, अहिले यस्तो समस्या नै आउने थिएन, शर्माले बताउनुभएको छ ।

काँग्रेस नेता शर्माको अवधारणापत्रमा संविधान बनाउनेले संविधानप्रति इमान राखौं, आजको राजनीतिक व्यवस्था ठीक छ, अव्यवस्थाको अन्त्य गरौं, प्रश्नलाई प्रोत्साहित गरौं, जवाफमा जिम्मेवार बनौं, मेरो पुस्तालाई प्रस्ताव वान, टु, थ्री, फोर लगायतका २३ वटा एजेण्डाहरु सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया