संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीले अपराध स्वीकारे : प्रहरी

  भदौ २६, २०७८

सङ्खुवासभा, भदौ २६ : सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई आज पक्राउ गरेको छ ।

हत्यामा संलग्न देखिएका लोकबहादुरलाई आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय चैनपुरमा हुने पत्रकार सम्मेलनमा प्रदेश नं १ का प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोलीका डीएसपी रुगम कुँवरसमेत उपस्थित हुने प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।

गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोली घटनास्थल आइपुगेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ ।

प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् । लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए । लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसीबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बीसी आफैं घटनास्थल आइपुग्नुभएको थियो । डिआइजी बीसी घटनाको अनुसन्धान गर्ने बुधबार घटनास्थलमादी–१ खोला गाउँमा आइपुग्नुभएको हो । त्यस्तै गरी हत्या प्रकरणका अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली लिएर डीएसपी रुकमबहादुर कुँवरसहितको टोली मङ्गलबार घटनास्थल आइपुगेको थियो । अनुसन्धानको क्रममा मृतकको घरभित्र खानतलासी गर्दा रु चार लाख ७१ हजार र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेको थियो ।

को हुन लोकबहादुर कार्की ?
२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो । कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताउनुभयो । ‘मरेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, कराउँथे यहि पारा हो भने त मेरो पनि ज्यान जोखिममा रहेछ’, थापाले भन्नुभयो ।

गत चैत २६ गते आमा बितेपछि बुवा र भाई सहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । हत्या गरिएको तेजबहादुरको घरमा उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यू भएको थियो । उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् ।

लोकबहादुरले उनका हजुरआमा ८४ वर्षीय पार्वता, ५८ वर्षी ठुलो बुवा तेजबहादुर, ५२ वर्षी ठुली आमा कमला, भाउजु ३२ वर्षीय रञ्जना, ११ वर्षीय भतिज दीपेन र ७ बर्षीय भतिजेनी गोमा कार्कीको हत्या गरेको थियो । हत्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो ।

लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएको जस्तो देखिने हतियारहरु प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरेको थियो । घटनाको बिवरण र संलग्नलाई भोली (आईतबार) प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया