प्रा रिसालको निवन्ध सङ्ग्रह ‘आश्चर्य’ सार्वजनिक

  भदौ २३, २०७८

काठमाडौँ, भदौ २३ : प्राध्यापक शिवगोपाल रिसालद्वारा लिखित निबन्ध सङ्ग्रह ‘आश्चर्य’ आज सार्वजनिक भएको छ । भर्चुअल प्रविधिद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले आज सो निबन्ध सङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।

आश्चर्य निबन्ध सङ्ग्रहमा दार्शनिक, आध्यात्मिक र साहित्यिक विधाका गरी ३४ ओटा निबन्ध संलग्न छन् । नेपाली भाषा र साहित्यका प्राध्यापक रिसालद्वारा लिखित सो निबन्ध सङ्ग्रहमा आश्चर्य नामको एक निबन्ध छ र यसमा उहाँले सृष्टि, पृथ्वी, मानवीय उत्पत्ति र यो संसारलाई नै एक आश्चर्यका रुपमा प्रस्तुत गर्नुभएको छ ।

सो कार्यक्रममा प्रा डा गुरुङ, अर्का प्राध्यापक गोपीकृष्ण शर्मा, स्वाध्याय कार्यक्रमका संयोजक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली र उक्त निबन्ध सङ्ग्रहका प्रकाशक अनन्तगोपाल रिसालले सो निबन्ध सङ्ग्रह नेपाली भाषा साहित्य र अध्यात्मको एक सङ्गम हो भन्नुभयो । उहाँहरुले प्राध्यापक रिसालले ८५ वर्षको उमेरमा पनि पुस्तक प्रकाशन गरेर नेपाली भाषा, संस्कृति तथा आध्यात्मिक ज्ञानका क्षेत्रमा ठूलो योगदान पुर्याउनुभएको बताउनुभयो ।

प्राध्यापक शिवगोपाल रिसालको यो ७३औँ कृति हो । उहाँले यसअघि नेपाली भाषा र साहित्य, अध्यात्मिक ज्ञान र नेपाली संस्कृति विषयमा पुस्तकहरु लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया