अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

  भदौ २३, २०७८

काठमाडौँ, भदौ २३ : पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको पुस्तक ‘राणाकालीन शिक्षा’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि सचिव रामप्रसाद थपलिया मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।

शिक्षा सचिव थपलियाले पुस्तकले राणाशासनकालमा शिक्षाको अवस्थाबारे जानकारी दिने बताउनुभयो । लेखक अधिकारीले पुस्तकमा राणाकालको १०४ वर्षको अवधिमा शिक्षाको विकासक्रमबारे खोजमूलक तथा ऐतिहासिक सामग्रीसहित पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएको बताउनुभयो ।

निरङ्कुश शासकले उच्च शिक्षामा जनताको पहुँचमा किन र कसरी पु-याए भन्ने कुरा पुस्तकमा समेटिएको उहाँले जानकारी दिनुभयो । पुस्तकमा राणाशासनकालमा स्थापना भएका विद्यालयबारे पनि उल्लेख गरिएको छ । लेखक अधिकारीले नेपालको शिक्षाको इतिहास जान्न खोज्नेका लागि पुस्तक उपयोगी हुने बताउनुभयो ।

यस्तै पुस्तकमा कन्या शिक्षा, कला पाठशाला, प्रौढ शिक्षा, आधार शिक्षा, मन्टेसरी शिक्षा, संस्कृत शिक्षा, स्रेस्ता पाठशाला र पास जाँच अड्डालगायत विभिन्न १५ विषयमा लेखिएको छ । यसअघि उहाँले ‘एसएलसीको इतिहास’ नामक पुस्तक २०७४ सालमा प्रकाशित गर्नुभएको थियो । लेखक अधिकारी शिक्षा पत्रकार सञ्जालका अध्यक्षसमेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया