कर्मचारीले निष्पक्ष सेवा प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री

  भदौ २०, २०७८

काठमाडौँ, भदौ २० : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई नियम, कानुनको परिधि र पेसागत मर्यादामा रहेर निष्पक्ष सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा देउवाले भन्नुभयो, ‘‘सरकार छ भन्ने कुरा सरकारी कर्मचारीले दिएको सेवाका आधारमा जनताले अनुभूति गर्ने हो । सम्पूर्ण कर्मचारीले अनुशासनमा रहेर पेसागत मर्यादामा रहेर नियम, कानुनअनुसारको सेवा प्रवाह गर्नुपर्छ ।’’

कार्यक्रममा युनियनद्वारा प्रकाशित पुस्तक ‘कर्मचारी’को प्रधानमन्त्रीले विमोचन गर्नुभएको छ । उहाँले भन्नुभयोे, ‘‘कर्मचारीतन्त्र स्थायी सरकार हो, राजनीतिक नेतृत्व फेरबदल भइरहन्छ तर ऐन, नियम, कानुनका आधारमा रहेछ । पारदर्शी रूपमा जनतालाई नियमित सेवा उपलब्ध गराउने तपाईंहरू हो ।’’

उहाँले नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा युनियन कर्मचारी क्षेत्रको बलियो सङ्गठन भएको बताउनुभयो । आफूले युनियनबाट कर्मचारी प्रशासन सुधारका लागि मर्यादित बनाउने, कर्मचारीको हक–हितका लागि सक्रिय हुने आशा अपेक्षा लिएको प्रधानमन्त्रीले बताउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुुभयो ।

कार्यक्रममा नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले सुशासन नै प्रजातन्त्रको मूलभूत मर्म भएको बताउनुभयो । त्यस अवसरमा युनियनले पूर्वसचिव गोपीनाथ मैनालीलाई दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरिएको छ । कार्यक्रममा युनियनका अध्यक्ष गोपाल पोखरेलले युनियनका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको आज विमोचन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका उहाँले सरकार निजामती कर्मचारीका हकहित र सुरक्षामा संवेदनशील रहेको बताउनुभयो ।

मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले इमान्दारिता र निष्पक्षतापूर्वक सेवाग्राहीमैत्री भएर नागरिकलाई सेवा दिनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले सो कार्यका लागि सम्पूर्ण निजामती कर्मचारीलाई आह्वानसमेत गर्नुभयो । उहाँले कानुनले दिएका अधिकारभित्र रहेर नियमसम्मत तरिकाले जनतालाई सेवा प्रदान गर्ने कार्यमा निजामती कर्मचारी युनियनले आफ्नो सङ्गठनात्मक शक्ति र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले निवर्तमान सचिव गोपीनाथ मैनालीलाई दोसल्ला ओढाएर प्रमाणपत्रका साथ सम्मान गर्नुभएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले निजामती कर्मचारीले जनतालाई दिने प्रभावकारी एवं चुस्त सेवासँग सरकारको सफलता गाँसिएको बताउँदै त्यसतर्फ इमान्दारितापूर्वक लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रह गर्नुभएको थियो । युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका पदाधिकारी, पूर्वअध्यक्षहरूको पनि सहभागिता थियो ।

तपाईको प्रतिक्रिया