प्रदेश २ मा १० जना प्रदेशसभा सदस्य नेकपा (एककिृत समाजववादी) मा

  भदौ १७, २०७८

जनकपुरधाम, भदौ १७ : प्रदेश २ मा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएकाे छ । उहाँहरूले बिहीबार निर्वाचन आयोगको जनकपुरधामस्थित प्रदेश कार्यालयमा सशरीर उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्नु भएकाे हाे ।

प्रदेशसभा सदस्यहरूले नयाँ पार्टी रोजेसँगै जनता समाजवादी पार्टी नेपालका मोहम्मद लालबाबु नेतृत्वको गठबन्धन सरकारमा सामेल हुने बाटो नेकपा (एककिृत समाजववादी) का लागि खुलेको छ । नेकपा (एककिृत समाजववादी) रोज्ने प्रदेशसभा सदस्यहरूमा शतुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्रराय यादव, हसीमा खातुन र मनोजसेन श्रीवास्तव हुनुहुन्छ ।

नेकपा एमालेका अर्का एक प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकाले उनले निवेदनमार्फत आफू नेकपा (एकीकृत समाजवादी) मा रहने निर्वाचन आयोगको कार्यालयलाई जानकारी दिनुभएको छ । प्रदेशसभा गठन हुँदा प्रदेशसभा २ मा नेकपा एमालेका २१ जना सदस्य थिए ।

नेकपा(समाजवादी एकीकृत) का प्रदेशसभा सदस्य शत्रुधन महतोले गठबन्धन सरकारमा सहभागी हुने केन्द्रीय सहमतिअनुसार छिट्टै सरकारमा सहभागी हुने बताउनुभयो । तर उहाँले त्यसको समयसीमाबारे भन्नुभएन । प्रदेश २ सरकारमा सत्तारुढ राजनीतिक दलको केन्द्रीय गठबन्धनका नेपाली काँग्रेसले तीनवटा मन्त्रालय र माओवादी केन्द्रले एक मन्त्रालय लिएर यसअघि नै सम्मिलित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया