कवि पूर्ण वैद्य रहेनन्

  भदौ ११, २०७८

काठमाडौं, भदौ ११ : नेपालभाषाका आधुनिक कवि पूर्ण वैद्यको निधन भएका छ । उपचारको क्रममा ललितपुरको निदान अस्पतालमा बिहीबार राति ८१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि कब्जियतको समस्याबाट ग्रसित वैद्यको अन्तिम घडीमा कोरोना भाइरसका कारण निधन भएको जनाइएको छ ।

‘उहाँलाई पहिलेदेखि नै कब्जियतको समस्या थियो,’ नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धरले भने, ‘उपचारको क्रममा अक्सिजनको कमी देखिएर कोभिड परीक्षण गर्दा पोजिटिभ आयो । त्यसपछि भेन्टिलेटरमा राखियो । तर सुधार हुन सकेन ।’

उनी वि.सं.१९९७ भाद्र जनैपूर्णिमाका दिन भक्तपुरको चोछेंमा जन्मिएका थिए । उनको पूरा नाम पूर्णबहादुर वैद्य हो । शिक्षाशास्त्र र नेपालभाषामा उच्चशिक्षा हासिल वैद्यले लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । उनका नेपालभाषामा ‘सरासु’ (निष्पट्ट अँध्यारोमा पहिलो किरण) र ‘लः लः खः’ (पानी पानी हो) कवितासंग्रह, ‘पाचिना’ निबन्ध संग्रह, ‘कविताया लागा’ (समालोचना) कृति प्रकाशित छन् । त्यसैगरी वैद्यले जापानी भाषाको कविता कृति ‘सुन्तारो तानिकावाया चिनाखँ मुना’ नेपालभाषामा अनुवाद गरेका छन् । वैद्यको ‘लः लः खः’ (पानी पानी हो) कवितासंग्रह नेपाली र अंग्रेजी भाषामा अनुवादसहित प्रकाशित छ ।

‘पूर्ण वैद्य सिंगो नेपालभाषाको कविता विधामा आधुनिक कविताका प्रवर्तक हुनुहुन्छ,’ भाषा अभियन्ता मल्ल के सुन्दरले भने, ‘उहाँको योगदान कविता र निबन्ध विधामा रहेको छ ।’ कवि वैद्य नेपालभाषाको सर्वोच्च सम्मान ‘श्रेष्ठ सिरपा’, अस्विकृत विचार पुरस्रकार लगायत सम्मान गरिएका थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानले गत असार ३० गते ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ प्रदान गरेको थियो ।

कवि वैद्य अनामनगरमा श्रीमती निरा वैद्यका साथ बस्दै आएका थिए । दम्पतीको कुनै सन्तान नरहेको जनाइएको छ । सेनाले ‘कोभिड–१९’ को मापदण्डअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया