काठमाडौं, भदौ ११ : सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशन प्रक्रिया भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने गरी अगाडि बढाइने जनाइएको छ तर पनि काँग्रेसको क्रियाशील सदस्यताको सम्बन्धमा अझैपनि केही जिल्लाहरुको विवाद समाधान हुन सकेको छैन ।
काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन परिमार्जित कार्यतालिका अनुरुप नै सम्पन्न गर्ने विषयमा शुक्रबार प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने जानकारी दिनुभएको छ । ३६,३७ वटा जिल्लाहरुको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएपनि क्रियाशील सदस्यता छानबिन समितीले निर्णय नगरेका जिल्लाहरुको नामावली भने सार्वजनिक भएको छैन, रिजालले बताउनुभएको छ ।
काँग्रेसको केन्द्रीय समितिले पछिल्लो समय काँग्रेसका नेताहरु कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. मिनेन्द्र रिजालसहितको तीन सदस्यीय समितिलाई क्रियाशील सदस्यता सम्बन्धमा अन्तिम टुंगो लगाउने जिम्मेवारी दिइएको छ । महाधिवेशन प्रक्रिया अगाडि बढाउने प्रक्रियामा केही व्यवहारिक कठिनाईहरु आएका छन्, सदस्यताकै विषयलाई लिएर जिल्ला सभापतिहरु धर्नामा बस्नुभएको छ, यी लगायतका विषयहरुमा छलफल गर्न सभापति देउवासँग वरिष्ठ नेता पौडेलले छलफलका लागि समय लिनुभएको छ, रिजालले बताउनुभएको छ ।
काँग्रेस महाधिवेशनकै विषयमा शुक्रबार बिहान काठमाडौंको चाकसीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवासमा वरिष्ठ नेता रामचन्द्र पोडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, अर्जुननरसिंह केसी लगायतका शीर्ष नेताहरुबीच छलफल भएको छ । सोही छलफलमा सहभागी हुनुभएको काँग्रेस नेता रिजालले काँग्रेस महाधिवेशन सम्बन्धमा देखिएका समस्याहरु समाधान हुदैन भन्ने मानसिकताबाट भन्दा पनि समाधान हुन्छ र सबैलाई चित्त बुझ्ने बाटोबाट समाधान निकाल्न सकिन्छ भन्ने निष्कर्श बैठकले निकालेको पनि बताउनुभएको छ ।