१२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाकाे ४० लाख खोप आउँदै

  साउन २९, २०७८

काठमाडौं, साउन २९ : मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाइसकेको छ ।

विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो ।

यसरी सम्झौता गरेर खोप खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश हो । ‘२०२२ को मार्चदेखि खोप आउनेछ । यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ,’ विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फेरिस ह्याडेड जिर्भसले नेपाल सरकार तथा जनतालाई सहयोग गर्न पाएकोमा गाैरवान्वित भएको पनि बताउनुभएको छ ।

विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि यसैअघि नै १० करोड ४० लाख डलर उपलब्ध गराइसकेको छ ।

तपाईको प्रतिक्रिया