नेकाँ केन्द्रीय कार्य समितिको बैठक जारी, निर्वाचन निर्देशिका पारित हुने

  साउन २९, २०७८

काठमाडौं, साउन २८ : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहीबारबाट सुरु भएको छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेदेखि बैठक सुरुभएको हो ।

बैठकमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौं केन्द्रीय महाधिवेशन सम्बन्धमा विभिन्न प्रस्तावहरु पेश गर्नुभएको छ । जसमा केन्द्रीय निर्वाचन समितिबाट प्रस्ताविक एवम् पारित निर्वाचन निर्देशिका पार्टीका केन्द्रीय सदस्यहरुको सुझावका आधारमा पारित गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको मिति भदौं १६ देखि १९ गतेसम्मको लागि तय गरिएको थियो तर गत साउन १२ गते हुने भनिएको वडा तह र साउन २५ गतेको गाउँ/नगर स्तरको अधिवेशन प्रभावित भइसकेको अवस्थामा केन्द्रीय महाधिवेशन पनि प्रभावित भइसकेको प्रवक्ता शर्माको भनाई छ ।

महाधिवेशनको सन्दर्भमा सर्वसहमति वा निर्वाचनमार्फत नेतृत्व चयन हुने भन्ने विषयमा पनि केन्द्रीय कार्य समितिको बैठकमा छलफल जारी रहेको उहाँले बताउनुभयो । यस्तै विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समायोजन समितीको बाँकी रहेको काम टुंगोमा पु-यायने पनि शर्माले बताउनुभएको छ ।

रमेश लेखकको संयोजकत्वमा रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन माथि पनि बैठकमा छलफल जारी रहेको छ । कोरोना महामारी, समय अभाव र अपर्याप्त तयारीका कारण महाधिवेशन कहिले र कुन रुपमा गर्दा प्रभावकारी हुने भन्ने प्रस्तावमा पनि बैठकमा छलफल भएको छ ।

महाधिवेशन प्रभावित भइसकेको अवस्थामा परिमार्जित कार्यतालिका पनि बैठकले सार्वजनिक गर्ने  प्रवक्ता शर्माले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया