रुपन्देही, साउन २८ : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख कार्यालयमा आज साँझ आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरूप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले सपथ ग्रहण गर्नुभएको हो । सपथ ग्रहणपछि मुख्यमन्त्री केसीले आजैदेखि कार्यभार पनि सम्हाल्नुभएको छ ।
यसअघि दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । केसीले ४१ सदस्य रहेको नेपाली काङ्ग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए । केसी रोल्पा १ (क)बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।
लुम्बिनीका नवनियुक्त मन्त्रीद्वारा सपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गर्नुभएको हो ।
मुख्यमन्त्री कुलप्रसाद केसीसहित सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा शहरी विकासमन्त्रीका रूपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीकामा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीकामा सहसराम यादवले सपथ लिनुभएको छ । अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेङ्गाले विनाविभागीय मन्त्रीकामा सपथ लिनुभएको छ । विभागीय मन्त्रीले आजैदेखि कार्यभार सम्हाल्ने जनाइएको छ ।
काङ्ग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री हुनुभएको हो । जनता समाजवादीका तर्फबाट ढेङ्गा र रायमाझीले मन्त्री पद पाउनुभएको हो । स्वतन्त्र सांसद शाहीले पनि मन्त्रीको शपथ लिनुभएको छ । संविधानको धारा १६८(२) अनुसार चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।






