विधान महाधिवेशनको तयारीमा एमाले, पार्टीको नियमित काम नरोकिने

  साउन २३, २०७८

काठमाडौं, साउन २३ : प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले पार्टीको नियमित गतिविधि नरोक्ने बताएको छ । आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने घोषणा गरेको एमालेले त्यसका लागि सुझाव संकलनको काम शुरु गरेको छ । शुक्रबार स्थायी कमिटीका नेताहरुसँग विधान संशोधन मस्यौदा कार्यदलले सुझाव संकलन गरेको थियो ।

एमालेले संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ । गत आइतबार बसेको बैठकले सो कार्यदल गठन गरेको थियो । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार शुक्रबार बैठकमा नेताहरुबाट आएको सुझावलाई दस्तावेजीकरण गर्ने काम भइरहेको बताउनुभयो । थप सुझाव लिने र मस्यौताको काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय बैठकले विधान संशोधन तथा पार्टीको अन्य गतिविधिका काम तत्काललाई स्थगन गरी पार्टी एकताको पक्षमा गृहकार्यका लागि आग्रह गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओलीको पार्टीको नियमित कामकाज अघि बढाउने र एकता प्रक्रिया पनि सामानान्तर ढङ्गले अघि बढाउने निर्देशनअनुरुप काम अघि बढिरहेको कार्यालय सचिव तामाङले बताउनुभयो ।

पार्टी एकताका लागि नेतृत्व तहदेखि नेताहरु सबै सकारात्मक रहनुभएको तर पार्टीको नियमित कामकाज रोक्न नसकिने उहाँले बताउनुभयो । पार्टीको नियमित काम रोकिदा पार्टीको जीवनमा नकारात्मक असर पुग्ने भन्नुहुँदै नेता तामाङले पार्टीका सबै कामहरु स्वभाविक प्रक्रियाअनुसार नै अघि बढिरहेको बताउनुभयो ।

एमालेले गत आइतबारको बैठकले विधान महाधिवेशनमा पेश गर्न अध्यक्ष ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार गर्ने कार्यदल, संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

त्यस्तै, नेता रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको थियो । सो कार्यदललाई अनुमोदन गर्न भोली आइतबार एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । बिहान ११ बजेका लागि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्ने नेता तामाङ्ले बताउनुभयो ।

तपाईको प्रतिक्रिया