दार्चुला घटनाबारे छानबिन टोलीको कार्यान्वयन हुन्छ : गृहमन्त्री

  साउन २०, २०७८

काठमाडौँ, साउन २० : गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका जयसिंह धामी बेपत्ता हुनुभएको थियो । भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिएको आरोप स्थानीयवासीको छ । गृहमन्त्रालयले उक्त घटनाको सत्यतथ्य जानकारीका लागि भन्दै छानबिन समिति गठन गरेको छ । मन्त्री खाँणले समितिको प्रतिवेदन कार्यान्वयनको प्रतिबद्धता जनाउनुभएको हो ।

प्रतिनिधि सभामा मङ्गलबार विशेष समय लिएर गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । समितिले स्थलगत रूपमा तथ्यका आधारमा प्रतिवेदन बनाउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘मन्त्रालयले छानबिन समिति बनाएको छ । सहसचिवको नेतृत्वमा तीन सुरक्षा निकायबाट प्रतिनिधित्व छ । समितिले घटनास्थलमै पुगेर छानबिन गर्नेछ । तुइन तरेका र तर्ने प्रतीक्षामा रहेका व्यक्तिसँग पनि भेटघाट गर्नेछ । समितिले प्राप्त गरेका निष्कर्ष र ठहरलाई सरकारले दृढताका साथ अगाडि बढाउँछ ।’’

समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले आवश्यक अडान कायम राख्ने पनि मन्त्री खाँणको भनाइ छ । उहाँले महाकालीको तुइन यात्रा चाँडै विस्थापित हुने पनि बताउनुभयो । निर्माणाधीन चार झोलुङ्गे पुलले चाँडै पूर्णता पाउने पनि उहाँको भनाइ छ । पुल निर्माणले पूर्णता नपाएका कारण तुइनको यात्रा गर्न नागरिक बाध्य भएको मन्त्री खाँणले बताउनुभयो । हराइरहेका धामीको खोजतलास कार्य भइरहेको बताउँदै उहाँले स्थानीय प्रशासनले भारतको पिथौरागढका अधिकारीलाई घटनाबारे जवाफ माग गरिसकेको पनि जानकारी दिनुभयो । स्थानीय प्रशासनले सोही दिन उक्त तुइन पार गरेका र प्रतीक्षामा रहेकालाई पनि जानकारी लिने काम गरिरहेको मन्त्री खाँणले बताउनुभयो । उहाँले मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, चितवनलगायतका जिल्लामा बाढी र पहिरोले पु-याएको क्षतिको विवरण पनि सदनमा प्रस्तुत गर्नुभयो ।

जयसिंह धामी बेपत्ता प्रकरणमा प्रतिनिधि सभामा मङ्गलबार ३० भन्दा बढी सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य, विशेष र गृहमन्त्रीको वक्तव्यपछिको समयमा सांसदले ध्यानाकर्षण गराएका हुन् । गृहमन्त्री खाँणको वक्तव्यपछि पूर्वगृहमन्त्री खगराज अधिकारीले धामीको अपराधपूर्ण क्रियाकलापबाट हत्या भएको भन्दै कारबाहीबारे सरकारको जवाफ माग गर्नुभयो । यस्तै सांसद योगेश भट्टराईले गृहमन्त्रीको अभिव्यक्तिले धामीको मृत्यु भइसकेको जनाउ दिएको भन्दै त्यसको आधिकारिताका खोज्नुभयो ।

सांसद गगन थापाले भारतीय पक्षले धामी प्रकरणमा संलग्नता नरहेको भन्ने भारतीय पक्षले दिएको भनिएको जवाफको आधिकारिताबारे गृहमन्त्रीलाई प्रश्न गर्नुभयो । नेपाली छानबिन टोलीलाई भारतीय पक्षले गर्ने सहयोग र प्रतिवेदन कस्तो बन्ला भन्ने थापाको प्रश्न थियो । सांसद शेरबहादुर तामाङले दार्चुला प्रकरणमा समितिले सत्यतथ्य जानकारी ल्याउनेमै शङ्का व्यक्त गर्नुभयो । सांसद शान्ता चौधरीले गृहमन्त्रीको जवाफ हल्का र गैरजिम्मेवार भएको टिप्पणी गर्नुभयो । सांसद दिलेन्द्र बडूले भारतीय पक्षसँग घटनाबारे भइरहेको कुराकानीबारे जानकारी माग्नुभयो । सांसद पुष्पा भुसालले भने दुई वर्षभित्र तुइनमुक्त हुन्छ भन्ने तत्कालीन प्रधानमन्त्री ओलीकोे घोषणा पूरा नहुँदाको परिणाम साउन १५ गतेको घटना भएको टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया