धानबालीमा गवारो रोगको प्रकोप

  साउन १७, २०७८

टीकापुर, साउन १७ : कैलालीका किसानले लगाएका धानखेतीमा गवारो रोगको प्रकोप देखिएको छ । गवारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दीप चौधरीको दुई बिघा क्षेत्रफलमा रहेका धानखेतीमा गवारोेको समस्या देखिएको छ ।

उहाँको खेतमा धानका गुभो मर्दै गएपछि उहाँ चिन्तित हुनुभएको छ । किराले पुरै खेतको धानको गुभो मर्दै गएको टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीले बताउनुभयो । “दुई हेक्टर क्षेत्रफलमा किराको प्रकोप देखापरेको छ”, उहाँले भन्नुभयो, “प्राविधिकसँग सल्लाह लिएर आए । यति मेहनत गरेर लगाएको खेतमा यसरी रोग फैलिए उत्पादन बढी लिन सकिँदैन । यो रोगले धानको बोट नै नोक्सान गर्छ ।”

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पु¥याउने गरेको किसानको गुनासो छ ।

किराको प्रकोप तीव्ररुपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसान वीरबहादुर चौधरीले जानकारी दिनुभयो । “ किराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, यसरी बोट नै मरेमा उत्पादन लिनसक्ने कुरै हुँदैन”, उहाँले भन्नुभयो, “अब खेती गर्न धेरै मेहनत गर्नुपर्छ । धेरै दिनपछि सिँचाइ गरौँ भनी खेतमा छिर्दा धानका बोट कीराले काटेर सखाप पारेको रहेछ ।”

धानमा पहेंलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रंगको ट्टट्ट गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा÷बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले किराको सङ्क्रमण सहजै फैलने गरेको टीकापुर नगरपालिका कृषि शाखाका प्राविधिक केशव भट्टले जानकारी दिनुभयो ।

“गवारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन् । यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्वको प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “धान खेतमा कीराको प्रकोपले वर्षेनी धान उत्पादनमा कमी हुने गर्छ । त्यसैले किसानले ध्यान दिन जरुरी छ ।”

कैलाली धानखेतीमा आत्मनिर्भर जिल्ला हो । जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार कैलालीमा ७७ हजार १०८ हेक्टर जमिनमा धानखेती गरिन्छ । तीन लाख २३ हजार ५०० हेक्टर जमिन रहेको जिल्लामा ८९ हजार ९३५ हेक्टर खेतीयोग्य जमिन छ । “धानखेतीका लागि कैलाली उर्वर भूमिका रूपमा छ ।

वर्षेनी जग्गा प्लटिङ, घर निर्माणजस्ता कार्यले खेतीयोग्य जमिन घट्दै गएको छ”, उहाँ भन्नुहुन्छ, “अर्कोतर्फ विभिन्न रोग तथा प्रकोपको समयमा उपचार गरिएन भने उत्पादन बढी लिन सकिँदैन । त्यसैले किसानले मलखाद, आवश्यक सुक्ष्म तत्व र सिँचाइमा ध्यान दिन आवश्यक हुन्छ ।”

तपाईको प्रतिक्रिया