पार्टी एकताको पक्षमा गृहकार्य अगाडि बढिरहेकाले सरकारमा जाने कुनै तयारी छैन : पन्त

  साउन १३, २०७८

काठमाडौं, साउन १३ : नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष गठबन्धन दलको सरकारमा सहभागी नहुने जनाएको छ । पार्टी एकताको पक्षमा गृहकार्य अगाडि बढिरहेकाले सरकारमा जाने कुनै तयारी नरहेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुने विषयलाई लिएर विभिन्न अनलाइन मिडियामा विभिन्न थरीका समाचार प्रकाशन र प्रशारण भए पनि आफूहरु सरकारमा जाने कुनै छलफल गरिनसकेको नेता पन्तले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । गठबन्धन दलको बैठकमा पनि सरकारमा नजानेबारे आफ्नो पक्षबाट कुरा राखिसकिएको बताउनुहुँदै नेता पन्तले भन्नुभयो, “पार्टी एकता प्रक्रियामा जोड दिइरहेका छौं, यस्तो बेलामा गठबन्धन दलको सरकारमा सहभागी हुने कुरै उठ्दैन ।”

वरिष्ठ नेता नेपाल गठबन्धन दलको बैठकमा नियमित सहभागिता हुने र आफ्नो प्रतिनिधि पठाउँदै आउनुभएकाले सो पक्ष पनि सरकारमा जाने तयारी गरिरहेको समाचार विभिन्न मिडियामा सम्प्रेषण भइरहेका बेला नेता पन्तले सरकारमा नजाने प्रष्ट पार्नुभएको हो । हामी सरकारमा गएर अहिले के उपलब्धि हुन्छ ? पार्टी बलियो भयो भने न हामी पनि बलियो हुन्छौं नेता पन्तले भन्नुभयो, “सरकारमा जानेबारेमा हामी कुनै छलफल र निर्णय गरिसकेका छैनौं, सरकारमा सहभागी हुँदैनौं ।” एमाले पार्टी एकतालाई सुदृढ बनाएर अघि बढ्ने विषयमा विभिन्न चरणमा छलफल र संवाद भइरहेकाले चाँडै निश्कर्षमा पुगिने पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया