काठमाडौँ, साउन १२ : नेपाली काँग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर धनुषाका नेता कार्यकर्ताले विगत केही दिनदेखि जारी राखेको अनशन मङ्गलबार साँझदेखि स्थगित गरिएको छ ।
धनुषाका काँग्रेस नेता डा.चन्द्रमोहन यादव लगायतले पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्नुभएको अनशन स्थगित गर्नुभएको हो । पार्टीका नेताहरुले आगामी तीन दिनमा क्रियाशील सदस्यताको विवाद मिलाउने प्रतिवद्धता जनाएपछि आफूले अनशन स्थगित गरेको नेता यादवले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कार्यालयमा जारी अनशन स्थगित गर्न नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता डा. रामशरण महतले पहल गर्नुभएको थियो । यसअघि काँग्रेसको पदाधिकारीको बैठकले पार्टी कार्यालयमा जारी अनशन लगायतको विवाद मिलाउने जिम्मेबारी नेताहरुलाई दिएको थियो ।






