काठमाडौं, साउन १२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाउँदै सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सङ्कलन गरेको ४७ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको नयाँ दिल्लीस्थित प्रयोगशालामा परीक्षण गर्दा तिनमा डेल्टा भेरिएन्ट पुष्टि भएको तथा अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्ट र कप्पा भेरिएन्टका उत्परिवर्तन फेला परेको जानकारी दिँदै मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सम्भावित तेस्रो लहरको तयारीमा जुट्न स्वास्थ्य सेवा प्रदायक निकाय र स्वास्थ्यकर्मीहरूमा अनुरोध गरेको छ ।
नेपालमा कोभिड–१९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट देखिनेक्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अब ’कप्पा’ भेरियन्ट पनि देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट भेटिएको पुष्टि गर्नुभयो ।
डा. अधिकारीका अनुसार तीमध्ये तीनवटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको छ । जसलाई एवाई.वन नाम दिइएको छ । यी सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रूपमा अल्फा (बी.१.१.७ ) र डेल्टा भेरियन्ट (बी १.६.१.७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टी भएको छ । उहाँले नयाँ भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने बताउनुभयो ।
उहाँले विभिन्न अध्ययनबाट नयाँ भेरियन्टहरु छिटै सर्ने भएकोले संक्रमणको जोखिम बढीरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउनुपर्ने बताउनुभयो । डा. अधिकारीले मानिसले संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको बताउनुभयो ।







