काठमाडौँ, साउन ११ : राष्ट्रिय योजना आयोगमा पदाधिकारीविहीन हुँदा राष्ट्रिय जनगणना–२०७८ अन्योलमा परेको छ । सरकार परिवर्तन भएसँगै आयोगका पदाधिकारी हटेपछि आयोग मातहतमा रहेको केन्द्रीय तथ्याङ्क विभागलाई काम गर्न समस्या भएको हो ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले साउनको १५ गतेदेखि असोज १५ गतेसम्म राष्ट्रिय जनगणना गर्ने गरी विभागले आयोगमा प्रस्ताव पठाए पनि अहिले आयोग पदाधिकारीविहीन हुँदा जनगणना कार्यतालिका अन्योलमा परेको जानकारी दिनुभयो ।
“जनगणनाको नयाँ कार्यतालिका तोक्नका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नुपर्छ ।” उहाँले थप्नुभयो, “उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नका लागि अहिले राष्ट्रिय योजना आयोगमा पदाधिकारी नहुँदा जनगणनाको नयाँ मिति अन्योलमा परेको छ ।”
सरकारले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना कार्य सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरी काम अघि बढाएको थियो । तर कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएपछि गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि जनगणना स्थगित गर्ने निर्णय गरेको थियो ।






