दुई हजार ९७७ संक्रमित थपिए, एक हजार ६७८ निको, १८ को मृत्यु

  साउन ०९, २०७८

काठमाडौं, साउन ८ : पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७७ संक्रमित थपिएका छन् भने एक हजार ६७८ जना संक्रमणमुक्त भएका छन् ।

कुल १३ हजार ६९८ लाई पिसिआर र तीन हजार ६१० को एन्टिजिन विधिबाट गरी जम्मा १७ हजार ३०८ जनामा भएको परीक्षणमा सो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नै १८ जनाको कोभिडका कारण मृत्यु भएको छ । हाल मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रूपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका छन् ।

२४ जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी रहेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा पाँच हजार ७८२, ललितपुर एक हजार ११६ र भक्तपुरमा ९४७ सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म देशभरमा गरी ३५ लाख १७ हजार ८८९ जनाको पिसिआर र दुई लाख ८२ हजार १७९ को एन्टीजेन विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पिसिआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ छ लाख ७६ हजार ७०८ देखिएका छन् ।

हालसम्म संक्रमितमध्ये छ लाख ३९ हजार ३६८ लाई निको भएको छ । संक्रमितमध्ये निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ । हालसम्म नौ हजार ६७९ को मृत्यु भएको छ ।

कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको संख्या ३३ लाख ४९ ९५१ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको संख्या १३ लाख १२ हजार १२ रहेको छ । संक्रमितमध्ये पुरुष ६० दशमलव ३८ प्रतिशत र महिला ३९ दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया