काठमाडौं, साउन ३ : जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षका १८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको नेता महेन्द्र राय यादवले बताउनुभयो ।
नेता यादवका अनुसार आज प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिने सांसदमा महेन्द्र राय यादव, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह यादव, रामसहाय प्रसाद यादव, अमृता अग्रहरी, मोहमद इष्टियाक राई, प्रदीप कुमार यादव, रामबाबुकुमार यादव, सुरेन्द्र प्रसाद यादव, प्रमिला यादव, सूर्यनारायण यादव, लिलादेवी सिटौला, रानी मण्डल, नरमाया ढकाल, रेणुका गुरुङ र प्रमोद साह रहनुभएको छ ।
आजको बैठकमा १९ जना सांसदको उपस्थिति रहे पनि एकजना राष्ट्रिय सभाका सदस्य रहनुभएका पनि यादवले जानकारी दिनुभयो । यसअघि सो पक्षमा १२ जना सांसदले मात्र देउवाको पक्षमा हस्ताक्षर गर्नुभएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमले नेता महन्थ ठाकुर पक्षका छ जना सांसद उपेन्द्र यादव पक्षमा गएका छन् ।






