समूहमार्फत तरकारी खेतीमा महिला

  साउन ०३, २०७८

भजनी, साउन ३ : कैलालीको टीकापुर नगरपालिका–३ का महिला समूहमार्फत तरकारी खेतीमा आकर्षित देखिएका छन् । दीपज्योति महिला कृषक समूहका महिला समूहमा आबद्ध भए पनि तरकारी खेतीमा भने छुट्टाछुट्टै काम गर्छन् । एकताका लागि विसं २०७०-७१ देखि समूहमार्फत काम गर्दै आएका महिला सो क्षेत्रका लागि उदाहरणीय बनेका छन् । स्थानीयवासी २७ महिला समूहमा आबद्ध छन् तर खेती भने छुट्टाछुट्टै गर्छन् । उत्पादन भएको तरकारी एउटै ठाउँमा सङ्कलन गरी बजारीकरणका लागि लैजाने गर्दछन् ।

“हामीले उत्पादन गरेको तरकारी कैलाली जिल्ला हुँदै, नेपालगञ्जको कोहलपुर, दाङसम्म पठाउने गरेका छौँ”, समूहका अध्यक्ष मीनाकुमारी चौधरीले भन्नुभयो, “हामी २७ महिला मिलेर २२५ कठ्ठामा तरकारी खेती गर्दै आएका छौँ ।” अहिले पनि उहाँहरुको बारीमा लौका, चिचिण्डा, काँक्रा, भण्टालगायतका बर्खे तरकारी लटरम्म देखिन्छन् । समूहसँग दुईवटा बारी जोत्ने पावर ट्रिलर छन् । आम्दानी भएको रकमको केही प्रतिशत समूहले बचत गर्दै आएको छ भने मासिक रु १०० का दरले थप बचत पनि महिला कृषक समूहले गर्दै आएको अध्यक्ष मीनाकुमारी बताउनुहुन्छ । उहाँहरुले समूहका नाममा एक कठ्ठा चार धुर जग्गासमेत किनिसक्नुभएको छ । “हामीले बचत भएको रकमबाट समूहको नामम जग्गा किनेका हौँ । अहिले पनि समूहमा रु चार लाख बचत छ”, उहाँले भन्नुभयो, “समूहमा मिलेर काम गर्छौँ । आज एउटाको काम ग¥यौँ भने भोलि अर्कैको गर्छौँ । समूहका महिलालाई सस्तोमा कर्जासमेत उपलब्ध गराउँछौँ ।”

समूहमा आबद्ध भएकी देशरानी चौधरी पनि तरकारी खेतीबाट आम्दानी हुन थालेपछि निकै खुशी हुनुहुन्छ । पहिले परिवार पाल्नै गाह्रो हुने देशरानीलाई अहिले त्यस्तो कुनै समस्या छैन । “पहिले पनि काम गथ्र्यौँ, त्यो कामले न त आवश्यकता पूरा हुन्थे न सन्तुष्ट नै हुन्थ्यौँ”, देशरानीले भन्नुभयो, “अहिलेको व्यवसायबाट भनेको समयमा पैसा आउँछ । बालबालिकालाई राम्रो स्कूलमा पढाउन सफल भएका छौँ । समूहमा काम गर्दा सहज पनि भएको छ ।”

काम गर्दा आलोपालो काम गर्ने भएकाले काम गरेजस्तो पनि नहुने र काम सहजै सम्पन्न हुने गरेको महिलाहरू बताउँछन् । समूहमा सोही ठाउँकी आशा चौधरी पनि आबद्ध हुनुहुन्छ । उहाँको सबै परिवार त्यही तरकारी खेतीमा आबद्ध छ । समूहमा काम पर्दा आशा आफू काम गर्न जान्छिन् भने घरका अन्य सदस्य आफ्नै बारीमा काम गर्छन् । समूहमा नबस्दाको र अहिलेको आफ्नो आर्थिक अवस्थामा पनि निकै परिवर्तन आएको आशा बताउनुहुन्छ । “समूहमा बस्नुभन्दा पहिला र अहिलेको अवस्था आर्थिक होस् वा सामाजिकरूपमा होस् निकै फेरिएको छ । अहिले सबै कुरामा आफूलाई सक्षम छु जस्तो लाग्छ”, आशाले भन्नुभयो, “समूहकै कारण आफूसँगै परिवारलाई समेत आत्मनिर्भर बनाउन सफल भएका छौँ ।”

समूहलाई अब आफ्नै भवन निर्माण गरी सोही भवनबाट समूहको गतिविधि अगाडि बढाउने उद्देश्य रहेको समूहकी अध्यक्ष मीना बताउनुहुन्छ । “हामीलाई कुनै कुराको समस्या छैन, एउटा भवन र उत्पादन भएको तरकारी बजारसम्म पु¥याउने सवारी साधन भइदिएको भए राम्रो हुन्थ्यो”, मीनाले भन्नुभयो, “बजारीकरणमा समस्या छ । बोलाएको समयमा गाडी आउँदैन । कहिलेकाहीँ आउँछु भनेर पनि नआउँदा सङ्कलन भएको तरकारी खेर जाने गरेको छ ।”

समूहका महिला प्रत्येक महिना मासिक बैठक बस्ने गरेका छन् । उहाँहरुले सबै महिलाको समयमै उपस्थितिका लागि नयाँ नियमसमेत बनाउनुभएको छ । जुन समयमा बैठक बोलाइएको हो, उक्त समयमा नपुग्नेलाई प्रतिमिनेट रु पाँचका दरले जरिवानासमेत समूहले गर्दै आएको छ । जरिवानाबाट आएको रकम पनि महिलाहरूले त्यही समूहमा बचत गर्ने गरेका छन् । “शुरु–शुरुमा बैठक बस्दा सबैको राम्रै उपस्थिति हुन्थ्यो । समय बित्दै जाँदा अधिकांश उपस्थित नहुने, भइहाले पनि एकै समयमा नहुने क्रम बढेपछि हामीले यस्तो निर्णय गरेका हौँ”, अध्यक्ष मीनाले भन्नुभयो, “यस्तो निर्णयपछि सबै समूहका सदस्य समयमै बैठकमा उपस्थित हुन्छन् र समयमै बैठक सम्पन्न पनि हुन्छ । ढिलो पुग्नेहरु जरिवानाका डरले पनि समयभन्दा अगाडि नै उपस्थित हुने गरेका छन् ।” समूहलाई राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पनि अनुदानका विषादी, बीउबिजन उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया