प्रधानमन्त्री देउवासँग चिनियाँ राजदूत भेट : चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदान दिने

  साउन ०१, २०७८

काठमाडौँ, साउन १ : चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउनेभएको छ । नेपालका लागि चिनियाँ राजदूत हो याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको आजको भेटमा सो कुराको जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्री देउवासँग आज प्रधानमन्त्री निवासमा अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साे कुरा परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले खोप सहायताका निम्ति चिनियाँ सरकारप्रति आभार प्रकट गर्दै कोभिड–१९ विरुद्धको प्रतिकार्य र पुनःआरोग्य प्राप्तिमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो ।

राजदूत यान्छीले खोपसहायतालगायत अन्य माध्यमबाट पनि कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा चीनबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त मन्त्रालयले बताएको छ ।

तपाईको प्रतिक्रिया