एमाले स्थायी कमिटी बैठक सम्पन्न : दश बुँदे सहमति अनुमोदन, रचनात्मक रुपले कार्यान्वयनमा लैजाने

  साउन ०१, २०७८

काठमाडौं, साउन १ : नेकपा (एमाले)स्थायी कमिटी बैठक सकिएको छ । बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदलमा सहभागी सदस्यहरुलाई धन्यवाद दिँदै कार्यदल भङ्ग गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको बैठकले सो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार कार्यदलले आफ्नो जिम्मेवारी सफलतापूर्वक वहन गरेकोमा धन्यवाद दिने निर्णय पनि एमालेले गरेको छ । पार्टी एकताका लागि अधिकतम लचकता अपनाउने काम भएकोबारे जानकारी दिनुहुँदै प्रवक्ता ज्ञवालीले सहमतिको दस्तावेज सिर्जनात्मक र रचनात्मक रुपले कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

त्यस्तै, २०७४ फागुन ३ गते गठित सरकारले ४१ महिना पूरा गरेको जानकारी दिनुहुँदै प्रवक्ता ज्ञवालीले समृद्ध नेपाल र सुखी नेपालीको दिशामा सरकारले उल्लेखनीय काम गरेको पनि बैठकले ठहर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको भन्दै धन्यवाद दिने निर्णय बैठकले गरेको छ ।

सोहीअनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारलाई एमालेका तर्फबाट विश्वासको मत नदिने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो । लोकतन्त्र र संविधानको रक्षा गर्दै रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ । बैठकले गरेको निर्णयलाई पार्टी पङ्तिले इमानदारीपूर्वक वहन गर्न पनि बैठकले आग्रह गरेको छ ।

कार्यदल भङ्ग भए पनि पार्टी एकताको पहल पार्टीको तर्फबाट नियमित जारी रहने प्रवक्ता ज्ञवालीले बताउनुभयो । पार्टी एकताका लागि अधिक्तम लचकतासाथ प्रयास गर्ने तर लामो समय पर्खेर पार्टी बस्न नसक्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल पक्षका नेताहरु पनि केही बेर सहभागी भएर बैठक स्थलबाट बाहिरिनुभएको थियो ।

एमालेको आजै संसदीय दलको बैठक पनि बस्ने भएको छ । बानेश्वरस्थित संसद भवनको लोत्से हलमा साँझ ३ बजे निर्धारित समयमै बैठक बस्ने प्रवक्ता ज्ञवालीले बताउनुभयो । संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा अवको संसद बैठकमा एमालेका सांसदहरुले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया