एमाले स्थायी कमिटी बैठक शुक्रबार ११ बजे बस्ने

  असार ३१, २०७८

काठमाडौं, असार ३१ : प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को स्थायी कमिटी बैठक शुक्रबार ११ बजेका लागि तय भएको छ । यसअघि असार २९ गते मंगलबार बस्ने भनिएको बैठक बस्न नसकेपछि साउन १ गतेका लागि तय भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बस्ने पनि नेता तामाङले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालयमा ठूलो हलको अभाव भएपछि प्रतिष्ठान हलमा बैठक राख्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आन्तरिक एकता प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता तामाङले जानकारी दिनुभयो । पार्टीको आन्तरिक सहमति कायम गर्नेगरी कार्यदलले गरेको १० बुँदे सहमति अझै बैठकबाट अनुमोदन हुन नसकेकाले भोली बस्ने बैठकमा कार्यदलको सहमतिले प्रवेश पाउने उहाँले बताउनुभयो । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो समय बढेको दूरीका कारण सहमतिको दस्तावेज नै ओझेलमा परेको हो कि आँकलन नेताहरुले गरिरहनुभएको छ ।

एमालेले शुक्रबार नै अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक पनि तय गरेको छ । सोअघि स्थायी कमिटीको बैठक आव्हान गरिएको र बैठकमा वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुलाई पनि आमन्त्रित गरिएको कार्यालय सचिव तामाङले बताउनुभयो ।

एमाले सरकारबाट बाहिरिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकमा नेता नेपाल पक्ष सहभागी हुनेबारे अझै केही प्रतिक्रिया दिइसकेको छैन । संसदीय दलको बैठकमा भने अनुपस्थित रहने सो पक्षका नेताहरुले प्रतिक्रिया दिनुभएको छ ।

तपाईको प्रतिक्रिया