काठमाडौं, असार ३० : अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रको एक प्रमुख नाकामा तालिबानले आफ्नो झण्डा फहराएको छ । झण्डा फहराएपछि तालिबानले उक्त सीमा अब आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ ।
सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्धार नजिक स्पिन बोल्डाक सीमामा सेता झण्डा फहराइरहेको देखिएको छ । बीबीसीका अनुसार अफगानिस्तानका अधिकारीहरुले भने अस्वीकार गरेपनि तालिबान लडाकू पाकिस्तानका सीमा सुरक्षाकर्मीसँग कुराकानी गरिरहेको देखिएको छ ।
पछिल्लो केही दिन यता तालिबानले अफगानिस्तानी भूभाग नियन्त्रणमा लिने क्रम बढाएको छ । इरान, ताजिकिस्तान र तुर्कमेनिस्तानसँग जोडिएको अफगानिस्तानी भूभाग समेत तािलबानले नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । अफगानिस्तानबाट नेटो नेतृत्वको सेना फित्र्ता भएपछि तालिबानले हिंसात्मक घटनालाई गति दिदै भू भाग नियन्त्रणमा लिने क्रम बढाएको हो ।






