चलचित्र क्षेत्र अझै अनिश्चित, हजारौँ बेरोजगार

  असार २८, २०७८

काठमाडौँ, असार २७ : निषेधाज्ञा विस्तारै खुकुलो हुँदै अधिकांश क्षेत्र क्रमिक रूपमा खुल्न थाले पनि चलचित्र क्षेत्र अझै निषेधमै छ । लामो निषेधाज्ञाले चलचित्र क्षेत्रले ठूलो घाटा बेहोर्नुका साथै यससँग सम्बन्धित हजारौँ मानिस बेरोजगार भएका छन् । निषेधाज्ञा क्रमिक रूपमा खुकुलो हुँदै गएको अवस्थामा चलचित्र क्षेत्र पनि खुला हुनुपर्ने माग गरिएको छ ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले भन्नुभयो, “अहिले धेरै क्षेत्र खुलिसकेका छन् । चलचित्र क्षेत्र पनि स्वास्थ्य मापदण्ड पालना गरेर खुला हुनुपर्छ । ”सुरक्षा सतर्कता अपनाएर चलचित्र हल सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै उहाँले काम गरेर खाने प्राविधिक अहिले धेरै अप्ठ्यारोमा परेको बताउनुभयो ।

नेपाल प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले चलचित्र हल खुला नहुँदा प्राविधिकहरू धेरै समस्यामा परेको गुनासो गर्दै वितरण गरिएको राहत सामग्रीका कारण अहिलेसम्म आफूहरू धानिएको बताउनुभयो । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै सङ्गीत क्षेत्रमा गीत रेकर्डिङ तथा म्युजिक भिडियोको छायाङ्कन सुरु हुन थालेको छ । सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी ५४ दिनको घर बसाइपछि काममा फर्किएको बताउँदै निषेधाज्ञा हटेपछि एउटा गीत रेकर्ड गरिसकेको जानकारी दिनुभयो ।

गायक खुमन अधिकारीले पनि निषेधाज्ञा खुकुलो भएसँगै चारवटा गीत रेकर्ड गरिसकेको बताउनुभयो । उहाँले तीजको गीत र एउटा लोकदोहोरी गाएको बताउँदै आफू तीजको गीतको म्युजिक भिडियोको छायाङ्कनमा व्यस्त रहेको बताउनुभयो । गायिका शान्तिश्री परियारले पनि तीजको गीत रेकर्ड गराउनुभएको छ । राधिका हमाल, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, देवी घर्ती, प्रीति आले, प्रताप दास, खेम सेञ्चुरी, राजु ढकाल, राजेन्द्र कँडेललगायतका गायक–गायिका पनि रेकर्डिङको काममा फर्किसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया