काठमाडौं, असार २७ : बुल्गेरियालीले गएको तीन महिनामा दोस्रो पटक संसदीय चुनाबमा मतदान गरेका छन् । बुल्गेरियामा २४० संसदीय क्षेत्रका लागि ६७ लाख मतदाता मतदानमा सहभागी हुनेछन् ।
समाचार संस्था एएनआईका अनुसार चुनाबमा १५ राजनीतिक दलले स्पर्धा गर्दैछन् । कुल १३ हजार पाँच मतदान केन्द्र तोकिएको छ । बिहान सातबजेदेखि सुरु हुने मतदान राति आठ बजेसम्म चल्नेछ । बुल्गेरियाले मतदानका लागि विदेशमा समेत मतपेटिका राखेको छ । ६८ राष्ट्रमा ७८२ वटा मतपेटिका राखिएको छ । विदेशमा रहेका बुल्गेरियालीले समेत मतदान गर्न पाउनेछन् ।
गत अप्रिल चारमा समेत संसदीय चुनाब भएको थियो । तात्कालीन सत्तारुढ दल जीइआरबी नेतृत्वको गठबन्धनले मात्र ७५ सिट जितेको थियो । दोस्रो ठूलो दलले ५१ र तेस्रो दलले ४३ सिट जितेको थियो । नयाँ सरकार गठन हुन नसकेपछि राष्ट्रपति रुमेन रादेभले सबिंधानलाई टेकेर राष्ट्रिय सभा बिघटन गरेर अन्तरिम सरकार गठन गरी चुनाबको घोषणा गर्नुभएको थियो ।






