भेनेज्वालाको राजधानीमा सुरक्षाकर्मी र सशस्त्र समूहबीच मुठभेड

  असार २६, २०७८

काठमाडौं, असार २६ : भेनेज्वालाको राजधानी काराकसमा सुरक्षाकर्मी र हतियारधारी समूहबीच बुधबारदेखि सुरु भएको मुठभेड जारी रहेको छ । आधिकारिक रुपमा मृतकको संख्या खुलाइएको छैन् । यद्दपी स्थानीय सञ्चारमाध्यमले भने कम्तिमा दश जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सयौंको संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ । हतियारधारी समूहले आफ्नो नियन्त्रणमा रहेको क्षेत्र बिस्तार गर्न खोज्दा सुरक्षाकर्मीले प्रतिकार खोज अभियान सञ्चालन गरेको छ । एक जना स्थानीयले भने जारी हिंसा युद्धको रुप लिएको बताएका छन् । सामाजिक सञ्जालमा साझा गरिएको एक तस्विरमा कोटा ९०५ क्षेत्रमा भारी मात्रामा बुलेट छरिएको देखिएको छ । प्रभाबित क्षेत्रमा कम्तिमा पनि ८०० सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले उल्लेख गरेको छ ।

भेनेज्वालाका आन्तरिक मामिला मन्त्री कर्मेन मेलेञ्डेजले आतङ्क फैलाउने उद्देश्यले सञ्चालित अपराधिक सञ्जाल नष्ट गर्ने अभियानमा प्रहरीले सफलता पाइरहेको बताउनुभएको छ । उहाँले समूहले अपहरण गरेको नागरिकलाई प्रहरीले मुक्त गरेको बताउनुभयो । तर दोहोरो मुठभेडपछि सर्वसाधारण त्रसित भएर घर छोडेर भाग्न बाध्य भएका छन् । अधिकारवादी संघ संगठनले तनाब मत्थर पार्न आग्रह गरेको छ ।
भेनेज्वालाले समूहका नाइकेबारे सूचना उपलब्ध गराउनेलाई पाँच लाख अमेरिकी डलरको पुरस्कारको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया