काठमाडौं, असार २६ : मेलम्चीबाट पानी ल्याउनको लागि अम्बाथानको टनेल भरिएको बालुवा सफा गरेपछि काठमाडौंमा पानी ल्याउन सकिने बताइएको छ । असोजसम्म खोलामा सङग्लो पानी बगेको अवस्थामा अस्थायी बाँधको डाइर्भसनबाट पानी ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभएको हो ।
उहाँका अनुसार भरिएको बालुवा सफा गरेर दसैँसम्म पानी ल्याउन विभिन्न प्रयास भइरहेका छन् । तर अहिले पनि बाढी र पहिरोको जोखिम अझैँ रहेको र तत्काल बाटो खन्दा पनि बाढीले बगाउने खतरा रहेको उहाँले जानकारी दिनुभयो । मेलम्ची आयोजनाले मात्रै एक्लै तत्कालको अवस्थामा काम गर्न सक्ने क्षमता नभएकाले त्यसको लागि नेपाली सेना र सडक विभागलगायत निकायको सहयोग भएको अवस्थामा काम अगाडि बढाउन सकिने उहाँ बताउनुहुन्छ ।
खानेपानी आयोजनाको महानिर्देशकसहित परामर्शदाताको टोली क्षतिग्रस्त ठाउँमा निरीक्षण गरेर बाटो सुचारु गर्ने विषयमा मेलम्चीका स्थानीय बासिन्दासँग कुराकानी भइरहेको आयोजनाको भनाइ छ । अझैँ पनि बाढी पहिरोको त्यस क्षेत्रमा जोखिम रहेकाले आयोजनालाई थप हुनसक्ने क्षति कम गर्न विभिन्न उपायबारेमा अध्ययन भएको आयोजनाको भनाइ छ ।
बाटो र पुल नबनेको अवस्थासम्म आयोजनालाई चाहिने उपकरण, सामान लैजान नसकिने भएकाले बाटो खोल्न विभिन्न उपाय अपनाइएको छ ।
हेडबक्ससम्म पुग्न पाँच वटा पुल र करिव पाँच किलो मिटर बाढीले पुरिदिएको सडक खोल्नुपर्ने तत्कालको आवश्यक छ । स्थानीय तहले पनि बाटो केही दिनदेखि खोलिरहेको र अझँै छिटो काम गर्नको लागि नेपाली सेनासँग पनि समन्वय गर्न लागिएको समितिको भनाइ छ ।
बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवर्क, पुल तथा मुहानको संरचनामा क्षति पु–याएको छ ।
बाटो बनेपछि सामान राख्ने ठाउँसँगै मानिस बस्ने संरचना बनाउनुपर्ने हुन्छ । हेडबक्समा तीनदेखि चार लाख घन मिटर बालुवा माटो थुप्रिएको आयोजनाको अनुमान छ ।






