तनहुँ, असार २६ : पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ । हाल वर्षा नभएपनि विहीबार र शुक्रबार परेको अविरल वर्षाले माटो कमजोर भई सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।
म्याग्दे गाउँपालिका–१ बडचौरमा खसेको पहिरोलाई डोजरले पन्छाएर एकतर्फी राजमार्ग सूचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । पहिरोले शनिबार बिहान ४ बजे पृथ्वीराजमार्ग अवरुद्ध भएको थियो ।
अवरुद्ध राजमार्ग करीब चार घण्टा पछि पुनः सञ्चालनमा आएको हो । ‘‘पहिरोमा ठुलो ढुङ्गाहरु खसेकाले दुई तर्फ सञ्चालन ल्याउन सकिएको छैन शनिबार दिनभर नै अवरोध हटाउन लाग्न सक्छ’’ ट्राफिक प्रमुख हमालले बताउनुभयो ।
राजमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौं, गोरखा, लमजुङ, चितवन, नवलपरासी जाने गाडी बीच बाटोमै रोकिएका थिए । रोकिएका सवारी साधन र यात्रु राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।






