हुम्ला, असार २४ : राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रुपमा नजोडिए हिमाली जिल्ला हुम्लाका आन्तरिक सडकमा सुचारु भएका छन् । वर्षापछिको पहिरोले अवरुद्ध भएका सडकको मर्मत कार्य सम्पन्न भएपछि यातायात सञ्चालनमा आएका हुन । खार्पुनाथ यातायता प्रालिका चालक जोर बोहराले धेरै दिनपछि गाडी सञ्चालनमा आएको बताउनुभयो । पहिलोले अवरुद्ध सडकको पहिरो पन्छाउने र भासिएको भागको मर्मत गर्ने कार्य सम्पन्न हुँदा यातायात सुचारु भएको हो ।
सिमकोट खार्पु खण्डको पूर्वाधार विकास कार्यालयले मर्मत गरेर सडक सुचारु गरेको कार्यालय प्रमुख देवी ऐडीले बताउनुभयो । वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक मर्मत गर्न दस दिनभन्दा बढी समय लागेको उहाँले बताउनुभयो । सिमकोट खार्पुको हाल स्याम्नेसम्म मात्र यातायात सुचारु छ । अझै स्याम्नेदेखि खार्पुसम्म सडक पहिरोको कारण सुचारु हुनसकेको छैन । उक्त खण्ड ११ किलोमिटर छ ।
त्यसैगरी सिमकोट हेक्पा खोलाको अवरुद्ध सडक हिल्सा सिमकोट सडक आयोजनाले मर्मत गरेर यातायात सुचारु ल्याएको योजना प्रमुख बिसुन्दास लामाले बताउनुभयो । पहिरोले अवरुद्ध सडकलाई मेशिन लगाएर पन्छाएको उहाँले बताउनुभयो । सो खण्ड १२ किलोमिटर छ ।
यता सिमकोटबाट बरगाउँ र ठेहेको सडक भने वर्षापछिको पहिरोले सडक सुचारु हुनसकेको छैन । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको माथिल्लो हुम्लामा हेलिकोप्टरमा ढुवानी गरेर ल्याएका बोलेरो जीप चल्दै आएका छन् । त्यसै गरि ट्याक्टर र स्काभेटर पनि सञ्चालनमा छन् ।






