हेटौँडा, असार २१ : बहुचर्चित मकवानपुरको राक्सिराङ गाउँपालिका ४ स्थित निर्माणाधीन परेवाभीर सडक खण्डको भौतिक संरचनामा बाढीले क्षति पु-याएको छ । पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट राक्सिराङ गाउँपालिकाको वडा नं ९ खैराङ हुँदै धादिङको मलेखु जोड्ने छोटो बाटो अन्तर्गत पर्ने सो खण्डमा राक्सिराङ गाउँपालिका र सङ्घीय सरकारको अनुदानमा सडक निर्माणाधीन थियो ।
हरेक वर्ष पैदल हिँड्दा मानिसहरु भीरबाट लड्ने भएकाले चालू आर्थिक वर्षको बर्षेयाममा त्यस्तो समस्या नआओस् भनेर गाउँपालिकाले ठेकेदार कम्पनीलाई जोखिमयुक्त खण्डमा बाटो छिटो निर्माण गर्न आग्रह गरेको थियो । सोही बमोजिम परेवाभीर खण्डमा मनहरी खोलाको किनारैकिनार परेवाभीरको फेदी ४२० मिटर लम्बाइ र ७ मिटर उचाइसहितको बलियो कङ्क्रिट पर्खाल निर्माण थालिएको थियो ।
तर निरन्तर भइरहेको वर्षापछि उर्लिएको मनहरी खोलाले परेवाभीरको किनारमा निर्माण भएको पक्की संरचनाको ४० प्रतिशत भागमा क्षति पु¥याएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । खोलाले क्षति पु-याएपछि अघिल्ला वर्षहरु झैँ पैदल यात्रुहरु भीरमा झुण्डिएर यात्रा गर्न बाध्य भएका छन् ।
फलामे रडसहितको कङ्क्रिट पर्खाल र त्यसको बाहिरी भागमा ढुङ्गा र जाली भरेर निर्माण गरिएको ३.५ मिटर गहिराइको जगमा नै खोलाले धक्का दिएको अनुमान गरिएको छ । यद्यपि क्षति मापन गर्न सडक खण्डमा प्राविधिकहरु जान नसकेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।
निर्माणाधीन सडक खण्डाभन्दा पूर्वतर्फ रहेको खोलाको बगर अग्लो भएकाले सो क्षेत्र उत्खनन् गरी खोलाको बहाव सडक खण्डतर्फबाट पन्छाउनका लागि गाउँ विपद् व्यवस्थापन समितिमार्फत जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गरिए पनि कार्यान्वयन हुन नदिएकाले क्षति सहनुपरेको गाउँपालिका अध्यक्ष मल्ल बताउनुहुन्छ । ‘प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख लगायतले अनुगमन पनि गर्नुभयो, तर उत्खननकाे अनुमति दिनुभएन’, अध्यक्ष मल्लले भन्नुभयो ।
क्षति भएको भौतिक संरचना ठेकेदार कम्पनीले पूर्ण रुपमा पुननिर्माण गर्नुपर्नेछ । ठेकेदार कम्पनी बानियाँ–लामा जेभीसँग यसबारे कुरा भइसकेको र खोलाको सतह घट्नासाथ पैदल यात्रु हिँड्न मिल्ने गरी बाटो बनाइने अध्यक्ष मल्लले बताउनुभयो । “२४ महिना अवधिमा निर्माण हुनुपर्ने योजनाको भर्खर ५ महिना कार्यान्वयन भएको छ, ठेकेदार कम्पनीले लागत अनुमान बमोजिम नै योजना सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्नेछ”, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भन्नुभयो–“यो क्षति सरकारी पक्षको होइन, ठेकेदार पक्षको हो ।”
राक्सिराङ गाउँपालिकाको दुई करोड रुपियाँ र अर्थ मन्त्रालयबाट ससर्त अनुदानमा प्राप्त दुई करोड रुपियाँ र सांसद विकास कोषको समेत रकम थप गरी परेवाभीर खण्डमा बहुबर्षे ठेक्का गरी सडक निर्माण थालिएको हो । परेवाभीर खण्डमा पर्खाल निर्माण गरी बाटो निर्माण, भीरको ढुङ्गा कटिङ लगायत ६३० मिटर लामो बाटो बनाउने कामका लागि कुल ६ करोड ६१ लाख ६९ हजार रुपियाँ लाग्ने बिस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गरिए पनि ४२० मिटर बलियो पर्खाल तथा सात सय सय घनमिटर बाटोको कटिङसहित कामका लागि ठेकेदार कम्पनीले चार करोड ११ लाख रुपियाँमा ठेक्का सकारेका थिए ।
पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट धादिङको मलेखु जोड्नका लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै ५२ किलोमिटर मात्रै दूरी पर्ने गाउँपालिका अध्यक्ष मल्ल बताउनुहुन्छ । परेवाभीर खण्डबाहेक अन्यत्र ट्रयाक निर्माण भइसकेको र आउँदो हिउँदमा कच्ची सडकमा चल्ने सवारी साधनहरु मनहरी–मलेखु चल्न सक्ने उहाँले उहाँले बताउनुभयो ।






