काठमाडौं, असार २० : सोमालियाका राष्ट्रिय सेनासँगको भिडन्तमा विद्रोही संगठन अल शबाबका १५ जना लडाकू मारिएका छन् । मध्य सोमालियामा उक्त भिडन्त भएको समाचार संस्था एएनआईले जनाएको छ ।
सोमालियाको राष्ट्रिय सेनाका प्रवक्ता अलि हशी अब्दीले सेनासँगको मुठभेडमा कतिपय लडाकू घाइते भएको समेत बताउनुभयो । सोमालियाको गलमुडुग प्रान्तको राजधानी धुसामरेब शहर नजिक आइतबार बिहान भिडन्त भएको बताइएको छ ।
धुसामरेब र एल धेरे गाउँ जोड्ने बाटोमा विद्रोही संगठनले एम्बुस थापेको बेला भिडन्त भएको सेनाले जनाएको छ । भिडन्तको क्रममा १५ लडाकू मारिएको तथा दश वटा बन्दूक नियन्त्रणमा लिइएको अब्दीले सोमालियोको राष्ट्रिय रेडियोलाई बताउनुभयो ।






