डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु : उपप्रधानमन्त्री

  असार १६, २०७८

काठमाडौँ, असार १५ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको बताउनुभएको छ । मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताउनुभयो ।  

 उहाँले भन्नुभयो, “कोभिडपछि डिजिटल अर्थतन्त्रको महत्व थप बढेको छ, डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलाप थप सहज बनाउने छ ।” उपप्रधानमन्त्री पौडेलले उद्यमशीलता वृद्धिका लागि सरकार लागिपरेको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो भन्नुभयो । उहाँले मिडिया इन्टरनेसनलद्धारा आयोजित ‘फाइनान्सियल डिजिटलाईजेसन लिट्रेसी’ को लोगो अनावरण गर्नुभएको थियो ।

 नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग पुगेको बताउनुभयो । कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्व बढेको भन्दै उहाँले अहिले पुँजीबजारको क्षेत्रका अधिकाँश कुराहरु डिजिटलाइजेसन भएको उल्लेख गर्नुभयो ।  

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाईजेसनलाई महत्व दिएको बताउनुभयो । उहाँले समय बदलीएको उल्लेख गर्दै आर्थिक क्षेत्रमा डिजिटलाइजेसनको महत्व बढेको बताउनुभयो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै त्यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताउनुभयो ।  

तपाईको प्रतिक्रिया