टोकियो, असार १० : जापानमा गम्भीर प्रकृतिका साइबर अपराधविरुद्ध कार्य गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । चीन, रुस, उत्तर कोरियालगायत विभिन्न देशबाट हुने साइबर अपराधसँगै अन्य ठूला तथा गम्भीर प्रकृतिका साइबर अपराधका विरुद्धमा कारबाही गर्न नयाँ संरचना बनाउन माग गरिएको हो ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय प्रहरी कार्यालयले प्रहरी सम्वन्धी विद्यमान कानुनमा पनि संशोधन गर्न आवश्यक रहेको समेत जनाएको छ । पुरानोको कानुनी व्यवस्थाका कारण कतिपय कार्यमा कठिनाइ भइरहेको र कतिपय नयाँ समस्याहरुको समाधानका लागि पुरानो कानुन अपुग भएको प्रहरीको भनाई छ ।
कानुन संशोधन र साइवर सम्वन्धी ठूला समस्या समाधानका लागि छुट्टै निकाय गठन गराउने बारेमा प्रहरीको केन्द्रीय कार्यालयबाट आन्तरिक गृहकार्य भइरहेको पनि समाचारमा जनाइएको छ । साइबर र इन्टरनेटसम्वन्धी नयाँ नयाँ र ठूला तथा गम्भीर प्रकृतिका समस्या धेरै आउन थालेकाले यसका लागि दक्ष जनशक्तिसहितको छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
प्रहरीले कतिपय नयाँ विषयमा पर्याप्त र प्रभावकारी अनुसन्धान गर्न नजान्दा अपराधीहरुले प्रमाण नस्ट गर्ने गरेको र दोषी पत्ता लगाउन गाह्रो भएको प्रहरीले जनाएको छ । साइबरसम्वन्धी नयाँ विभाग गठन भएमा त्यसले सूचना संकलन गर्ने, विश्लेषण गर्ने, सरोकारवालासँग समन्वय गर्ने, साइबर नीतिलाई प्रभावकारी बनाउने, साइबर अपराध न्युनिकरण गर्नेलगायत कार्यमा सहयोग पुग्ने प्रहरी अधिकारीको बुझाई छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यसमेत रहेका एक जना चिनियाँ इन्जीनियरले जापानका विभिन्न कम्पनीहरुमा साइबर आक्रमण गरेको पत्ता लागेपछि प्रहरीले यस्ता अपराधहरु विरुद्ध कार्य गर्न छुट्टै विषेश विभागको आवश्यकता रहेको निश्कर्ष निकालेको हो ।