होटलको २० अर्ब लगानी जोखिममा

  असार ०६, २०७८

दमक, असार ६ : पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको दमकको थकाली किचनमा दिनभर जतिखेर गए पनि खान पाइन्थ्यो । होटल एकछिन पनि खालि हुँदैनथ्यो । दुई महिनादेखि होटल पूर्ण रूपमा बन्द छ । होटलका कर्मचारीहरू भने अहिले त्यहीँ खाना खाएर दिन कटाइरहेका छन् ।

“बैङ्कको ब्याज तिर्न र कामदारलाई आकर्षक सुविधा दिन पनि कुनै चिन्ता थिएन र कमाइ चित्तबुझ्दो नै थियो,” होटल सञ्चालक दिवस राई भन्नुहुन्छ । उहाँका अनुसार प्रतिकूल अवस्थामा पनि कामदारलाई राखिराख्नु परेको छ । बिदाइ ग-यो भने भोलि नआउने र नपाउने चिन्ता हुन्छ । त्यसैले कमाइ नभए पनि खान, बस्न र केही तलब त दिनै परेको उहाँको भनाइ छ ।

दमकमा मात्र नभएर उहाँले बिर्तामोडमा पनि शाखा विस्तार गर्नुभएको थियो भने इलाममा सञ्चालनको तयारी थियो तर निषेधाज्ञाले अहिले उहाँलाई समस्या भएको छ । “एक वर्षअघिको पीडा अलि कम हुँदै गएको समयमा फेरि सुरु भएको कोभिड र निषेधाज्ञाले उस्तै बनायो,” उहाँले भन्नुभयो ।

दमकको पाथीभरा होटल एन्ड लज पनि दमकको चल्तीको मानिन्छ । अहिले यो होटल पनि पूर्ण रूपमा बन्द रहेको छ । एक वर्षदेखि अहिलेसम्म होटल नचलेको सञ्चालक पुष्प खनालले बताउनुभयो । खान र बस्नका लागि व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने होटललाई अहिले त बैङ्कको ब्याज पनि कसरी तिर्ने भन्ने भएको छ ।

होटल तथा पर्यटन व्यवसायी महासङ्घका प्रदेश १ का अध्यक्ष राजन दङ्गालका अनुसार राज्यले ध्यान नदिने हो भने र होटल तथा लज व्यवसायीहरूको समस्या नबुझ्ने हो भने अर्बौं लगानीको व्यवसाय चौपट हुनेछ । ठूलो लगानीमा खुलेका होटल तथा लजको लगानी डुबेर व्यवसायीहरू पलायन बन्ने खतरा रहेको उहाँले बताउनुभयो ।

“भाडामा लिएर चलाइएको होटल र त्यहीमाथि बैङ्कको ऋणको ब्याज तिर्न नसक्ने अवस्था हुँदा अब व्यवसाय छाडेर हिँड्नुको विकल्प के रहन सक्छ र ?” दमकमा नै होटल व्यवसाय गर्दै आउनुभएका दङ्गालले भन्नुभयो । होटलका कामदारलाई तलब दिएर अहिले पनि राखिराख्नु परेको र कोठाभाडा पनि तिर्नुपरेको उहाँको भनाइ छ । बैङ्कले पनि ताकेता गर्न नछाडेको उहाँ बताउनुहुन्छ ।

२० अर्बको लगानी जोखिममा
ठूला तथा मझौला गरेर नौ हजार चार सय होटल प्रदेश १ मा रहेका छन् । होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश १ अध्यक्ष दङ्गालका अनुसार होटल क्षेत्रमा यहाँ २० अर्बभन्दा बढीको लगानी छ । पछिल्लो समयमा थप सुविधा सम्पन्न होटलहरूले अझ धेरै लगानी गरे पनि तिनीहरू पनि जोखिममा रहेका छन् । होटलहरू पूर्ण रूपमा बन्द हुँदा यो सबै लगानी जोखिममा परेको दङ्गाल बताउनुहुन्छ । ऋण गरेर चलाइएका होटलहरू यत्रो समय नचल्दा व्यवसायीहरू अब कसरी उठ्न सक्ने अवस्था रहन्छ ? उहाँ प्रश्न गर्नुहुन्छ । दैनिक घाटा मात्र २५ करोडभन्दा बढी रहेको दङ्गालले जनाउनुभयो ।

१० हजार मजदुरको बिचल्ली
यसैबीच होटल व्यवसाय ठप्प हुँदा तिनमा कार्यरत १० हजार मजदुर बिचल्ली हुने अवस्था छ । मजदुर तथा कर्मचारीलाई कति दिनसम्म तलब दिएर खुवाएर राख्न सकिन्छ र ? दङ्गालको भनाइ छ । आधाभन्दा बढी त वैकल्पिक कामको खोजीमा यस क्षेत्रबाट पलायन भइसकेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया