थपिए एक हजार ६८८ कोरोना सङ्क्रमित, ३४ जनाको मृत्यु

  असार ०६, २०७८

काठमाडौँ, असार ५ : नेपालमा थप एक हजार ६८८ जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ६८८ र ७१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख १९ हजार ६३५ र एन्टिजेन पोजेटिभ २५ हजार ५७४ पुगेको छ । हालसम्म ३२ लाख ६२ हजार ५८९ को पिसिआर र एक लाख ३८ हजार ३१३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।    
    
पछिल्लो २४ घण्टामा तीन हजार ६६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । काेरोना निको भएको दर ८९ दशमलव ३ प्रतिशत  छ ।

यस्तै गत २४ घण्टामा थप ३४ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या आठ हजार ६५७ पुगेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या सात लाख ३१ हजार ६५३ पुगेको छ ।    

तपाईको प्रतिक्रिया