सक्रिय मनसुन केही मत्थर हुँदै, उद्धार र राहत वितरण तीव्र

  असार ०५, २०७८

काठमाडौँ, असार ५ : अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “बिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहन्छ । पूरै मौसम सुधार हुने छैन ।” उहाँका अनुसार पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै सोझिएको छ । त्यसैले यो रेखा तलमाथि भइरहन्छ । सोही कारण देशका केही भूभागमा भारी वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।

अन्यत्र भने हल्कादेखि मध्यम वर्षा हुने अवस्था देखिएको छ । महाशाखाका अन्ुसार शनिबार, आइतबार र सोमबार प्रदेश १, गण्डकी, लुम्बिनी, बागमती र पश्चिमी भू–भागमा भारी वर्षाको सम्भावना छ । आइतबार केही भेगमा भने अति भारी वर्षा पनि हुनसक्ने भएकाले सतर्क रहन भनिएको छ ।

एक साता लगातारको वर्षाले पहाडी भेगको माटो भिजिसकेको छ । त्यसैले पनि रोकिँदै फेरि वर्षा हुँदा हल्का वर्षाले पनि भेल पहिरो र सुख्खा पहिरो जानसक्ने भएकाले पहाडी भेगमा थप सावधानीको आवश्यकता रहेको महाशाखाले उल्लेख गरेको छ । वर्षाको क्रम जारी नै रहेकाले खहरे र साना खोलमा आकस्मिक बहाव र ठूला नदीको सतहमा बढोत्तरी हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।

शुक्रबारसम्म बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ । डोटीमा पहिरोमा परेर थप दुई जना र कालीकोटमा पहिरोले एक र सप्तरीमा बाढीले बगाएर थप एक गरी शुक्रबार थप चार जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची बस्तीमा पसेको बाढीबाट बेपत्ता भएका २० जना अझै फेला परेका छैनन् ।

१०२ जनाको उद्धार
नेपाल प्रहरीका अनुसार बाढीपहिरोमा फसेका मध्ये सिन्धुपाल्चोकमा ९४ जना र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार गरिएको छ । यस्तै बाढीका कारण चार दिनको अवधिमा १९९ वटा घर डुबानमा परेका छन् । १३८ घर, ११ गोठ, १२ पुल, विद्यालय र सातवटा सरकारी कार्यालयमा पूर्ण क्षति पुगेको छ ।

बाढीपहिरोका कारण एक हजार ७६० जना विस्थापित भएका छन् भने ५१६ वटा पशु चौपायको मृत्यु भएको छ । सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी स्थानान्तरण गरिएको छ । वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान र दैलेखलगायत विभिन्न स्थानमा पहिरो गई अवरोध भएको सडक तथा राजमार्ग प्रहरीले खुलाएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा क्षति न्यूनीकरण र उद्धारमा स्थानीय तह, विभिन्न सामाजिक संस्था र सुरक्षा निकायहरूबाट राहत वितरण भइरहेको छ । बाढी पहिरोमा पुरिएका घरबाट सामग्री निकालेर सुरक्षा गर्ने काम भइरहेको प्रहरी प्रवक्ता वसन्त कुँवर बताउनुभयो ।

तपाईको प्रतिक्रिया