मेलम्चीमा पुनः बाढी, तामाकाेशी आसपासका क्षेत्रमा सजग रहन आग्रह

  असार ०५, २०७८

काठमाडौं, असार ४ : सिन्धुपाल्चोकको मेलम्चीमा पुनः बाढी आएको छ । शुक्रबार राति करिब ८ बजेतिर खोलाको बहाव बढेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले सामान्य वर्षा भएका कारण बाढीको बहाव बढेको बताउनुभयो । प्रहरी उपरीक्ष अधिकारीका अनुसार अहिले बाढी अलि कम भएको छ । सामान्य वर्षा हुँदा पनि बाढी आउने सम्भावना छ ।
‘अहिले हामी डिउटि मै छौं । यहाँको अवस्था बारे बुझ्दै छौं । सामान्य वर्षा हुँदा पनि बाढी आउने अवस्था छ,’ उहाँले भन्नुभयो ।

त्यस्तै प्रहरीले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयो । ‘हिजो दिउँसोदेखि बाढी केहि सुकेको थियो । तरपनि यहाँका नागरिकलाई सचेत गराउन माइकिङ गराएर सुरक्षित स्थानमा सारिएको छ,’ उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ ननाकुत्तेभन्दा पाँच सय मितर माथिबाट झरेको पहिरेले मेलम्ची नदीको बहाव थुनिएर बनेको बाँध भत्काए पश्चात मेलम्ची खोलामा मंगलबार रातिदेखि बाढी आएको थियो । बिहीबार बाढी सुके पनि सामान्य वर्षा भएपनि पुनः मेलम्चीमा बाढी आएको हो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दोलखाले साँझ ९ः४५ बजे एक सूचना जारी गरी नेपाल चीन सीमा क्षेत्रमा रहेको चीनकाे टिनगरिी काउन्टीकाे रोङसी शहर र सो आसपासको क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको बहाव रोकिएको सूचना प्राप्त भएकाले नेपाल चीन सीमा क्षेत्र तथा तामाकोशीको तटिए क्षेत्रमा बसोबास गर्नेलाई सजग रहन आग्रह गरेको छ । स्थानीयहरूले दिएकाे सूचनाका अाधारमा साे सूचना जारी गिरएकाे दाेलखाका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले बताउनुभयाे । 

साे क्षेत्रमा जुनसुकै समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर आउन सक्ने भएकाले नेपाल चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटिए क्षेत्रमा जोखिम हुनसक्ने भएकले सम्पूर्ण बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दोलखाले  सूचना मार्फत आग्रह गरेको हाे ।

नेपाल चीन सीमा क्षेत्रबाट हामीलाई जानकारी आए अनुसार हामीले सूचना जारी गरेका हौं तर त्यहाँ भएका मानिसले नेपाली र अंग्रेजी प्रस्ट बोल्न नसकेका कारणले हामीले थप धरै कुरा बुझ्न पाएनौँ गोरखापत्र अनलाईनसँग दोलखाका प्रमुख जिल्ला अधिकारी  घिमिरेले भन्नुभयो । यस बिषयमा थप बुझ्ने प्रयास भैरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया