काठमाडौं, असार १ : इजरेली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरेली सेनाले पुष्टि गरेको छ ।
इजरेलले हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरेलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको उल्लेख गरेका छन् । हमासको एउटा रेडियो स्टेसनले एउटा तालिम केन्द्र पनि निशानामा परेको जनाएको छ । उक्त उग्रवादी समूहले जेरुसलेममा भएका प्रदर्शनका कारण मङ्गलवारलाई ‘आक्रोशको दिन’ भनेको थियो ।
हवाई आक्रमण
बुधवार सबेरै गाजामा विस्फोटनका आवाजहरू सुनिएका थिए । यसअघि आगलागी गराउने क्षमता भएका बेलुन बम पनि भनिने कैयौँ बेलुनहरू गाजाबाट मङ्गलवार इजरेलतर्फ पठाइएका थिए ।
दुवै पक्ष मे २१ मा लडाइँ अन्त्य गर्दै युद्धविराम गर्न सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो । एउटा विज्ञप्तिमा इजरेली डिफेन्स फोर्सले हमासको खान युनिस र गाजा सिटीमा रहेका सैन्य हाताहरूमा उसका लडाकु जेटहरूले आक्रमण गरेको उल्लेख गरेको छ ।
ती परिसरमा ‘आतङ्कवादी गतिविधि’ भएको भन्दै उसले आइडिएफ निरन्तर गाजा स्ट्रिपबाट भएका त्यस्ता कार्य रोक्न ‘सबै परिस्थितिका लागि तयार’ रहेको उल्लेख गरिएको छ ।
हवाई आक्रमणहरूले गराएको हताहातीबारे प्रस्ट भइसकेको छैन । तर गाजामा रहेका बीबीसी संवाददाताले सामाजिक सञ्जालमा उक्त भूभागमा इजरेली ड्रोनहरूको आवाज सुनिएको उल्लेख गर्दै भिडिओ राखेका छन् ।
र्यालीको आयोजना
इजरेलको अग्नि सेवाले यसअघि गाजाबाट पठाइएका आगलागी गराउने क्षमताका बेलुनहरूका कारण दक्षिणी इजरेल कम्तीमा २० वटा आगलागी भएका उल्लेख गरेको थियो ।
पूर्वी जेरूसलेममा इजरेली राष्ट्रवादीहरूले मङ्गलवार गरेको र्यालीको विरोधमा कदम चाल्ने पनि चेतावनी दिएको थियो । उक्त र्याली सन् १९६७ मा इजरेलले पूर्वी जेरुसलेम कब्जा गरेको सन्दर्भमा आयोजना गरिएको थियो ।
मे महिनाको प्रारम्भमा नै आयोजना गर्ने योजना बनाइएको भएपनि प्रहरीले अनुमति नदिएपछि र हमासको चेतावनी आएपछि केही ढिला भएको थियो ।
इजरेली प्रहरीसँगको झडपमा ३० भन्दा बढी घाइते भएका छन् र १७ जना गिरफ्तार भएका छन् । र्यालीअघि स्थानीय सञ्चारमाध्यमले इजरेलको सेनालाई उच्च सतर्कतामा राखिएको जनाएका थिए ।
त्यसबाहेक प्यालेस्टाइनबाट हुने सम्भावित रकेट हमलालाई लक्षित गर्दै इजरेलको आरन डोम मिसाइल प्रणालीलाई पनि सक्रिय तुल्याइएको भनिएको थियो ।