काबुल, असार १ : अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।
अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर घाइते भएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्धुकधारीले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका व्यक्तिहरुमाथि आक्रमण गरेको जानकारी दिनुभयो ।
उहाँले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि बताउनुभयो । सुरक्षा निकायले ती स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा व्यवस्था गर्न नसकेको बताइएको छ । अफगान स्वास्थ्य मन्त्रालयले पाँच वर्षमुनिका लाखौं बालबालिकालाई पोलियो खोप दिने गरी राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको समयमा उक्त घटना भएको छ ।
कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी स्वीकारेको छैन । यसअघि, गत मार्चमा पनि नान्गरहरमा भएका दुई बेग्लाबेग्लै घटनामा पोलियो खोप खुवाउने अभियानमा संलग्न दुई महिला स्वास्थ्यकर्मीको गोली हानी हत्या गरिएको थियो । विश्वमा हाल दुई मुलुक अफगानिस्तान र छिमेकी पाकिस्तानमा हरेक वर्ष पोलियोका बिरामी देखा पर्ने गरेका छन् ।
नाइजेरियामा बन्दुकधारीद्वारा १० जनाको हत्या
नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए ।
गोली लागेर घटनास्थलमै ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार साँझ सो दुर्घटना भएको ती प्रहरी प्रमुखले जानकारी दिएका हुन् । उक्त घटनापछि उक्त भ्यानमा आएका व्यक्तिको खोजी कार्य शुरु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई भेट्न भने नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।
आइतबार साँझ सो दुर्घटना भएपछि प्रहरी र सेनाले घटनास्थललाई घेरा हालेर बन्दुकधारीको खोजी थालेको र सोमबारसम्म उनीहरुलाई पक्राउ गर्न नसकेको बताइएको छ । यो क्षेत्रमा विगतमा पनि हिंसा हुने गरेको थियो । बन्दुकधारीले गाउँ गाउँमा पुगेर सर्वसाधारण तथा किसानको हत्या गर्ने गरेका थिए ।






