कर्णालीको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख रूपियाँ

  असार ०१, २०७८

सुर्खेत, असार १ : कर्णाली प्रदेशले आर्थिक वर्ष २०७८/७९ का लागि ३६ अर्ब ५४ करोडको बजेट पेश गरेको छ । मंगलवार कर्णाली प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट पेश गर्नुभएको हो ।
कूल बजेटमा पुँजीगतर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार अर्थात ५९ प्रतिशत, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार अर्थात ३१ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार अर्थात १० प्रतिशत बिनियोजन गरिएको छ ।

यस्तै आन्तरिक राजश्व संकलनतर्फ ६० करोड संकलन हुने अनुमान गरिएको छ । चालु बजेटमा खर्च हुन नसकेको १२ अर्ब ९२ करोड, संघबाट राजश्व सात अर्ब ४४ करोड ७७ लाख, वित्तीय समानीकरणतर्फ १० अर्ब १४ करोड २१ लाख सशर्त अनुदानतर्फ सात करोड ९८ लाख ७७ हजार प्राप्त हुने प्रदेश सरकारले अनुमान गरेको छ ।

कर्णाली प्रदेशले स्वास्थ्य, शिक्षा, उत्पादन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । कोभिड—१९ रोकथाम नियन्त्रणका लागि ५३ करोड ९३ लाख रुपियाँ बिनियोजन गरेको छ । जसमा जनशक्ति, उपकरण थप, अक्सिजन आपूर्ति, खोपलगायतका कार्यक्रमहरु गरिनेछ ।
कर्णालीको पर्यटन विकासका लागि २३ करोड १५ लाख, सडक पूर्वाधार तथा यातायात विकासतर्फ सात अर्ब २९ करोड, खानेपानी तथा सरसफाई विकासतर्फ एक अर्ब ७९ करोड, सिंचाई तथा नदी नियन्त्रणका लागि ६८ करोड ७४ लाख, ऊर्जा विद्युततर्फ ४२ करोड ३१ लाख, शहरी व्यवस्थापनतर्फ ४० करोड, कृषि स्वरोजगारतर्फ एक अर्ब र खेलकुदतर्फ ५९ करोड बजेट बिनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया