कास्की, असार १ : गण्डकी प्रदेश सरकारको आगाभी आर्थिक वर्ष २०७८÷०७९ को लागि ३० अर्ब तीन करोड ९४ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका तर्फवाट मुख्यमन्त्री एंव अर्थ मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सभाको मंगलवारको बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनीक गर्नु भएको हो ।
चालु आर्थिक बर्ष २०७७-०७८ को भन्दा आगामी आर्थिक वर्षको बजेट करिव चार अर्ब बढीले कम छ । प्रदेशको चालु वर्षको बजेट ३४ अरब ८४ करोड २१ लाख ६० हजार रहेको छ । सावजनिक गरिएको बजेटमा चालुतर्फ १३ अरब ६ करोड ४७ लाख ९४ हजार, पुँजीगततर्फ १६ अरब ७३ करोड ४३ लाख ३३ हजार र वित्तीय व्यवस्थातर्फ २४ करोड रहेको छ ।
कुल बजेटमा चालु तर्फ ४३ दशमलव ५, पुँजीगततर्फ ५५ दशमलव ७ र वित्तीय व्यवस्थातर्फ ० दशमलव ८ प्रतिशत रहेको छ । कुल बजेटमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान सात अर्ब ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख, राजस्व बाँडफाँटबाट ७ अरब ६२ करोड ७० लाख, रोयल्टी ३० करोड, आन्तरिक राजस्वबाट ४ अरब ९८ करोड २७ लाख २७ हजार प्राप्त हुनेछ ।
बजेटमा न्युन रहेको ४ अर्ब १० कारोड पुर्ती गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च नभई बाँकी रहने अनुमानित नगद २ अरब १० करोड सगै आन्तरिक ऋणबाट १ अरब र नेपाल सरकारसँगको ऋणबाट १ अरब व्यहोरिने छ । भौतिक पूर्वाधार विकासमा जोड दिंदै अधुरा तथा क्रमागत आयोजनाहरूलाई सम्पन्न गर्ने तथा पूर्वाधार विकास निर्माणका नयाँ आयोजनालाई विशेष प्राथमिकता दिनेछ ।
संविधान प्रदत्त प्रदेश क्षेत्राधिकारका विषयहरू थप प्रभावकारी रुपमा अगाडि बढाउने, संघीय सरकार र स्थानीय तहसँगको सहकार्य र समन्वयलाई जोड दिने ।
सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी, सर्वसुलभ र प्रविधिमैत्री बनाई नागरिकको पहुँच अभिवृद्धि गर्ने,सार्वजनिक, सहकारी र निजी क्षेत्रमा उपलब्ध स्रोत र साधनको उत्पादनशील क्षेत्रमा परिचालन गरी दिगो एवम् उत्थानशील अर्थतन्त्र निर्माण गर्ने। समन्वय, सहकार्य र एकताको भावना अनुसार प्रदेश सरकारका काम कारवाही अगाडि बढाउने लगायत रहेका छन् ।