विप्रेषण १९.२ प्रतिशतले बढ्यो

  असार ०१, २०७८

काठमाडौँ, असार १ : चालू आर्थिक वर्ष २०७७/७८ को १० महिनामा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेर ८०९ अर्ब ८९ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७७/७८ को १० महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २.७ प्रतिशतले मात्र घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४.६ प्रतिशतले घटेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

मुद्राप्रदाय बढ्यो
समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय २३.४ प्रतिशतले बढेको छ ।

खुद वैदेशिक सम्पत्ति
(विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) सात अर्ब ७५ करोड रुपियाँ (०.६ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति १२० अर्ब ९० करोड रुपियाँ (१२.३ प्रतिशत)ले बढेको थियो ।
समीक्षा अवधिमा सञ्चित मुद्रा २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.७ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा सञ्चित मुद्रा २६.८ प्रतिशतले बढेको छ ।

आन्तरिक कर्जा बढ्यो
१० महिनामा कुल आन्तरिक कर्जा १८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा यस्तो कर्जा २२.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २३.१ प्रतिशतले बढेको छ ।

निक्षेप १४.३ प्रतिशतले बढ्यो
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.० प्रतिशतले बढेको थियो ।

तपाईको प्रतिक्रिया