सुदूरपश्चिमका सात जना एमाले प्रदेशसभा सदस्य निलम्बित

  जेठ ३१, २०७८

धनगढी, जेठ ३१ : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलले सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली पक्षीय सात जना प्रदेश सभा सदस्यलाई सात देखि १५ दिनसम्म निलम्बन गरेकोे छ ।

एमाले संसदीय दलको सोमबार दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । गत जेठ २५ गते नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई विश्वासको मत नदिएको कारण सात जना प्रदेश सभा सदस्यलाई निलम्बन गरिएको हो ।

प्रमुख सचेतक दुर्गाकुमारी विकका अनुसार पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, बलदेव रेग्मी र लिलाधर भट्टलाई १० दिन र नेपालू चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरालाई सात दिन निलम्बन गरिएको छ । उहाँहरुको भूमिकाका आधारमा सो निर्णय गरिएको विकले बताउनुभयो ।

संसदीय दलले सभामुखलाई पत्राचार गरेको खण्डमा निलम्बित प्रदेश सभा सदस्यहरु निलम्बनको अवधीमा प्रदेश सभा र प्रदेश सभाका विभिन्न समितिका बैठकमा उपस्थित हुन नपाइने व्यवस्था छ । मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिएको विषयमा आधारित रहेर सातै जनालाई स्पष्टीकरण सोधिएको थियो । सातै जनाले स्पष्टीकरण पनि बुझाउनु भएको थियो । तर स्पष्टीकरण चित्त बुझ्दो नभएकोले सो निलम्बन गरिएको विकले बताउनुभयो ।

सातै जनाले पार्टीको स्थायी समितिले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले सरकारका विरुद्ध उभिएको बताउने गर्नु भएको छ ।
दलका्े बैठकमा सातै जनाको उपस्थिति थियो तर उनीहरुले उपस्थितिमा भने हस्ताक्षर गर्नुभएन । प्रदेश सभा सदस्य लिलाधर भट्टले भन्नुभयो, हामीले बैठकमा अनौपचारिकरुपमा सहभागिता जनायौ र अनौपचारिकरुपमै आफ्ना कुरा राख्यौ ।

उहाँहरुले गरेको कार्वाही पार्टीको विधान अनुसार मिल्दैन, सभामुखले विवेक पुगाउनुहुन्छ उहाँले दावी गर्नुभयो । उहाँका अनुसार दलको विधान पार्टी केन्द्रलाई पठाइएकै छैन्, पार्टी केन्द्रले मान्यता नदिदासम्म त्यो लागू हुँदैन । सोही बैठकमा पूर्व प्रमुख सचेतक तारा लामा तामाङले सबै प्रदेशमा एमाले एकतावद्ध देखिएको बेला यस्तो निर्णय गर्न नहुने सुझाव दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया